संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति

काठमाडौं । नेपाल बार एशोसियशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण गराएको छ । निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले प्रश्न उठाएको हो । मापदण्ड र अभ्यास विपरीत संवैधानिक इजलास गठन हुँदा त्यहाँबाट हुने फैसला विश्वसनीय हुननसक्ने भन्दै बारले प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीशलाई ध्यानाकर्षण गराएको हो । ‘‘त्यस्तो प्रकृतिको इजलासबाट जस्तोसुकै आदेश वा फैसला भए पनि विभिन्न किसिमका आंशका र प्रश्नहरू उठी विश्वसनीयतामा आँच पुग्ने भएकोले त्यस सम्बन्धमा निश्चित मापदण्ड अपनाउन नेपाल बार एसोसियसनले सम्माननीयज्यूलाई पटक–पटक मौखिक र लिखित रूपमा अवगत गराउँदै आएको छ,’’ बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

बारले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको छनौट पूर्व परम्परा अनुसार वरिष्ठताकै आधारमा हुनुपर्ने भनेको छ । यदि त्यसो गर्न कुनै बाधा अवरोध भएमा अन्य इजलास सरह रोष्टरभित्रको गोला प्रणालीमार्फत हुनुपर्ने बारको माग छ । न्यायपालिका नेतृत्वबाट नेपाल बारको माग र सरोकारप्रति ठोस निर्णय नभएका कारण ध्यानाकर्षण पत्र लेख्न बाध्य भएको पनि जनाइएको छ । यस्तै, बारले अन्य इजलासमा विचाराधीन मुद्दा समेत प्रशासनिक निर्णयको आधारमा पक्षहरूको सहमति र सम्बन्धित इजलासमा छलफल नै नगरी संवैधानिक इजलासमा लगिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यस्ता कार्यले न्यायपालिकाको गरिमा, साख र जनआस्थामा संकट आउनेतर्फ बारले ध्यानाकर्षण गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *