बागमतीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने
काठमाण्डौं । बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ सोमबार विश्वासको मत लिनु लागेका हुन्। सो अनुसार मुख्यमन्त्री थापाले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। यसअघि आइतबार विश्वासको मत लिने तयारी गरेका थिए। मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेको छ। भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ।
मुख्यमन्त्री थापाका अनुसार गृह जिल्ला जाने कार्यक्रम तय भएको र अन्य दलहरूको सुझावअनुसार मिति सारिएको हो। आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मत सम्बन्धी प्रक्रिया टुंग्याउने र सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइने उनको भनाइ छ। भदौ ३ गते मुख्यमन्त्रीमा दाबी पेश गरेका थापा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यकता पर्दछ। बिहिबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थापाले ६ जना मन्त्री नियुक्त गरेका थिए। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता लिने उनको तयारी छ। बागमती सरकार बनाउन पार्टी संसदीय दल नेता उद्धव थापाले समर्थन गरेपछि राप्रपामा भने विवाद छ। राप्रपाले दल नेता र पार्टी साधारण सदस्यबाट उद्वव थापालाई हटाउन सिफारिस गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेको थियो।
















