चौधरी फाउन्डेसनद्वारा बाढीपीडितका लागि १५ करोडभन्दा बढी सहयोग घोषणा
काठमाडौं । चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेका छन् । चौधरी फाउन्डेसनका अनुसार उक्त सहयोगबाट प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न तथा चिकित्सकीय राहत उपलब्ध गराउनुका साथै निर्माण शिविर सञ्चालन र ५०० वटा अस्थायी घर निर्माण गरिनेछ । दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । शुक्रबार अपरान्ह ५ बजेसम्म बाढीमा परी मृत्यु भएका ५५३ जनाको शव भेटिएको जनाइएको छ । अझै सयौँ नागरिकको अवस्था अज्ञात रहेको बताइएको छ । बाढीका कारण ठूलो संख्यामा परिवार घरबारविहीन बनेका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ । चौधरी समूहले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो स्तरमा सहयोग गर्दै आएको छ । पछिल्लो सहयोग पनि विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले केन्द्रित गरिएको जनाइएको छ ।

















