प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाले गरिन् १ करोड ९ लाख सहयोग, व्यक्तिगततर्फ अहिलेसम्मकै धेरै
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका हुन् । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।
राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेका छन्। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेको बस्नेतले जानकारी दिए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् ।

















