बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका ग्राहकहरूलाई राहत प्रदान गर्ने उद्देश्यले डिसहोम इन्टरनेटले विशेष सहयोगको घोषणा गरेको छ। कम्पनीले विपद् प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूका लागि १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको हो। प्राकृतिक विपद्को समयमा दैनिक जनजीवन कष्टकर बनिरहेका बेला सूचना, सञ्चार र आपत्कालीन समन्वयमा इन्टरनेटको भूमिका महत्त्वपूर्ण हुने भएकाले सञ्चारमा सहजता पुर्याउन यो सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ। डिसहोम इन्टरनेटको यो निःशुल्क सुविधा त्रिशूली, बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका ग्राहकहरूले प्राप्त गर्नेछन् ।
कम्पनीले विपद्को यस कठिन परिस्थितिमा सेवाको निरन्तरता र सूचनाको पहुँच पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गरेको छ। साथै, प्रभावित ग्राहकहरूलाई धैर्यधारण गर्न आग्रह गर्दै प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यममा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। यसैबीच, भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति डिसहोमले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। कम्पनीले यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनस्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ।
















