रसुवा बाढीपिडितका लागि नबिल बैंकले आयोजना गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममार्फत १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । त्रि।वि। लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रम बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । एक जिम्मेवार संस्थाका रुपमा नबिल बैंक पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै उनीहरूको साथमा उभिएको बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले बताए ।
‘रसुवाको भोटेकोशी,त्रिशूली नदीमा आएको बाढीका कारण भएको घटनाले हामी सबैलाई मर्माहत बनाएको छ। यस रक्तदान कार्यक्रममार्फत हामी जारी मानवीय सहायता कार्यमा योगदान पुर्याउनुका साथै यस कठिन घडीमा जीवन बचाउने प्रयासहरुमा सहयोग गर्न चाहन्छौं,’ कार्कीले भने । संकलित रगत सम्बन्धित रक्तसंचार सेवामा तथा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रका बिरामीको उपचारमा उपयोग गरिनेछ । नबिल बैंकले विपद्को समयमा समुदायप्रतिको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकको सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले यस्ता मानवीय तथा सामाजिक अभियानले विपद्को समयमा आवश्यक सहयोग जुटाउन र समुदायमा आपसी सहयोग तथा एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।















