कांग्रेसले अघि सार्‍यो सरकारसँग पाँच प्रमुख माग

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धार, राहत, सडक पुनःस्थापना र प्रेस स्वतन्त्रताका विषयमा निर्णय गरेको छ । नेपाली कांग्रेसले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको जानकारी दिँदै राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले सुरुङभित्र फसेकाहरूको आपत्कालीन उद्धारका लागि सरकारसँग माग गरेको छ । माथिल्लो त्रिशूली १, रसुवागढी, लाङटाङ खोला, चिलिमेलगायत जलविद्युत् आयोजनाका सुरुङमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धारका लागि बहुविषयगत प्राविधिक अभियान सञ्चालन गर्न बैठकले माग गरेको छ । उद्धारमा नेपाली सेना, विपद् व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न तथा घाइतेको उपचार निःशुल्क गर्न माग गरिएको छ ।

पासाङल्हामु र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको अवरोधले आपूर्ति ठप्प हुने जोखिम रहेकाले सडक विभागको नेतृत्वमा विशेषज्ञ टोली गठन गरी तत्काल अस्थायी ट्रयाक खोल्न आग्रह गरिएको छ । बैठकले बेत्रावती र अन्य जोखिमयुक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सुझाव दिएको छ । राहत सामग्री थुप्रिने तर पीडितसम्म नपुग्ने समस्या देखिएकाले प्रदेश र स्थानीय सरकारको नेतृत्वमा ‘सहजीकरण साझा संयन्त्र’ र एकद्वार प्रणालीमार्फत त्रिपाल, खाद्यान्न र औषधि युद्धस्तरमा वितरण गर्न आह्वान गरिएको छ । बैठकले भोटेकोसी बाढीको क्षति, उद्धार, पुनर्निर्माण र जलवायु न्यायका विषयमा एकीकृत नीति तयार पार्न केन्द्रीय सदस्य प्रा। डा। गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ । निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने, लोक कल्याणकारी विज्ञापनको कार्यविधि फेर्ने र राष्ट्रिय समाचार समिति ९रासस०को बुलेटिन शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण गराउँदै ती निर्णयहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *