मंगलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा
काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ अगरबत्तीमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध–एब्सोल्युट, रोयल र इन्टेन्सिटी–एउटै प्याकमा समावेश गरिएको छ। नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ । मङ्गलदीप सेन्ट ३ इन १ को प्रमुख विशेषतामा चारकोलरहित संरचना र लामो समयसम्म टिकिरहने सुगन्ध रहेको कम्पनीको दाबी छ । एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मनोदशा वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन् ।
सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तायलले नयाँ उत्पादनले नेपाली उपभोक्ताका लागि नवीन र सोच–विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए । ‘परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौँ,’ तायलले भने । मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि स्थापित ब्रान्डका रूपमा रहेको कम्पनीले जनाएको छ । सेन्ट ३ इन १ मार्फत परम्परागत सुगन्ध र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै उत्पादनको दायरा विस्तार गरिएको कम्पनीको भनाइ छ । मङ्गलदीप सेन्ट ३ इन १ को १०० र २०० रुपैयाँ मूल्य तोकिएको छ । यो उत्पादन नेपालभरका किराना पसल, सामान्य व्यापार तथा आधुनिक व्यापार केन्द्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मङ्गलदीपको उत्पादन पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरसहित विभिन्न सुगन्धका अगरबत्ती रहेका छन्।

















