सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने

काठमाण्डौं । आगामी मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ । २६ देखि २८ मंसिरसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका बनाएको राप्रपाले ७२ जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । हालैको भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई अधिवेशनको तालिकामा विशेष सुविधा दिएको राप्रपाले ती जिल्लालाई १५ असोजभित्र अधिवेशन गर्न समय प्रदान गरेको छ । यसैगरी राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेको जुम्ला र धनकुटा जिल्लालाई समेत सोही समयभित्र अधिवेशन गर्न मौका दिएको छ ।स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि राप्रपा सबै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन २१ असोजमा गर्ने मिति तय गरेको छ । केन्द्रीय निर्वाचन समितिले एकैदिन गर्ने प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ । जसअनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेशमा निर्वाचन समिति सदस्य राजाराम श्रेष्ठ, बागमतीमा निर्वाचन समिति सदस्य प्राडा जयन्तनाथ खनाल, गण्डकीमा निर्वाचन समिति सदस्य अमृत पुडासैनी, लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा निर्वाचन समिति सदस्य रमानन्द न्यौपाने र सुदूरपश्चिम प्रदेशमा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ ।राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लाका अध्यक्ष तथा जिल्ला कार्यसमितिले आफूमध्येबाट छानी पठाएका महिला र उत्पीडित एक–एक जनासहित ७ जना, प्रदेशअन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा क्षेत्रीय कार्यसमितिले आफूमध्येबाट छानी पठाएका महिला र उत्पीडित एक–एक जनासहित ५ जना प्रतिनिधि छनोट गरी पठाउने व्यवस्था रहेको छ । यस्तै, प्रदेशअन्तर्गतका प्रदेशसभा सबै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका अध्यक्ष तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आफूमध्येबाट छानी पठाएका महिला र उत्पीडित एक–एक जनासहित ४ जना र सम्बन्धित प्रदेशअन्तर्गतका नगर एवं गाउँपालिका कार्यसमितिका अध्यक्ष प्रतिनिधि छनोट गरी पठाउने व्यवस्था रहेको राप्रपाले जनाएको छ । राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यमध्येबाट छनोट गर्ने प्रावधान रहेको छ । समानुपातिक समावेशिताका आधारमा छनोट हुने महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यमध्येबाट छानिनेछन् । राप्रपाले १५ असोजसम्म सक्रिय सदस्यताको आवेदन दिने र फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ । देशैभर सक्रिय सदस्यताको विवरण फाराम भर्ने काम धमाधम भइरहेको राप्रपाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *