हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च रेकर्ड तोडेको हो । मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार हिजो २०८३ असोज ९ गते बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्मको अवधिमा सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ । यो सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टा अवधिको सबैभन्दा उच्च वर्षा रेकर्ड हो । यसअघि १९ अक्टुबर २०२१ मा सिमिकोटमा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो र त्यसैलाई उच्च रेकर्ड मानिएको थियो ।
तर यस वर्ष सन् २०२६ को सेप्टेम्बरमा २५ बिहान ८:४५ बजेदेखि सेप्टेम्बर २६ बिहान ८:४५ बजे (२०८३ साल असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजे)को अवधिमा ११४.८ मिलिमिटर वर्षा भएर पुरानो रेकर्ड तोडिएको हो । मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. कडेलले भनिन्, ‘यसपाली सिमिकोटमा २४ घण्टा अवधिको वर्षाले पुरानो सबै रेकर्ड तोडिएको छ ।’ कार्यालयको अभिलेख अनुसार समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा २४ घण्टा अवधिमा ९० मिलिमिटरभन्दा धेरै वर्षा यसअघि सन् २०००, २०१५ र २०२१ मा पनि भएका थिए । सिमिकोटमा सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर, सन् २००० जुन ८ मा ९०.४ मिलिमिटर र सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो । ४८ वर्षको दीर्घकालीन अवधिमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा दुई दिन, ७५ मिलिमिटर भन्दा धेरै वर्षा ७ दिन र ५० मिलिमिटरभन्दा धेरै वर्षा १३ दिन भएको रेकर्ड छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले तीन दिनदेखि उच्च हिमाली भेगमा हिमपात तथा पहाडी र तराई भेगमा वर्षा भइरहेको छ ।

















