पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता
पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, राक्सेका ७५ वर्षीय शेरबहादुर चिदी मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आइतबार बिहान करिब साढे २ बजे घरमाथिबाट पहिरो खसेपछि शेरबहादुर पहिरोमा परी गम्भीर घाइते भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट माडिफाँटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि उनलाई स्थानीय मेडिकलमा पठाएको थियो ।
स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए । यस्तैगरी माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे लगातारको वर्षाका कारण पहिरो खस्दा स्थानीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो । पहिरोमा परी ७५ वर्षीय लिलबहादुरसहित उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती मगर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

















