कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको हो । प्रारम्भिक खाकाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति र तीन उपसभापतिको व्यवस्था गरिएको छ । तीन उपसभापतिमध्ये एकजना महिला अनिवार्य हुने प्रस्ताव छ ।
त्यस्तै, तीन महामन्त्रीमध्ये कम्तीमा एकजना महिला रहने व्यवस्था गरिएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार, सहमहामन्त्रीको संख्या ११ भन्दा बढी बनाउने प्रस्तावसमेत आएको छ । क्लस्टर तथा समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै थप महामन्त्रीको व्यवस्था गर्ने प्रस्ताव गरिएको उनले बताए । पार्टीको तल्लो तहसम्म नीतिगत निर्णय गर्न सहज हुने र सबै समूह तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचनामा हेरफेर प्रस्ताव गरिएको कांग्रेसको भनाइ छ ।

















