प्रस्तावित १३ राजदूतविरुद्ध सात उजुरी आज खोलिँदै

काठमाडौं । सरकारले विभिन्न १३ देशका निम्ति प्रस्ताव गरेका राजदूतविरुद्ध परेका उजुरी आज खोलिँदै छ । त्यसनिम्ति बिहान सवा ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूतउपर प्राप्त उजुरी खोल्ने, उनीहरूबाट पेस गरिएका कार्ययोजना समिति सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । “दुईवटा सुझावजस्तो पनि छ । जम्मा सातवटा उजुरी परेका छन् । एउटै व्यक्तिविरुद्ध दुईवटा उजुरी पनि छ । ती उजुरी आज खोल्छौँ,” समितिका सचिव तुलबहादुर कँडेलले भने ।

यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भारतका निम्ति डा निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ । यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ । समितिले यसअघि उनीहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइबाट उनीहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *