एनआईसी एसिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री र उपकरण सहयोग
काठमाडौं । एनआईसी एसिया बैंकले मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठन सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री र पानी शुद्धीकरण प्लान्ट उपलब्ध गराएको हो । बैंकका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका–३ स्थित हिमालय आधारभूत विद्यालय, डोटीको आदर्श गाउँपालिका–२, साउदकाँडास्थित नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका–१, तिखास्थित मगलेक माध्यमिक विद्यालय र मोरङको जहदा गाउँपालिका–३ स्थित बाललक्ष्मी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरिएको हो । आश्विन २३ गते हिमालय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल प्रमुख जीवन शाही र मुगु शाखा प्रमुख विश्वराज बुढाले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मल्ललाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । उक्त विद्यालयमा ४८ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
त्यसैगरी, आश्विन २२ गते डोटीका दुई विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका दिपायल शाखा प्रमुख सुधीर भण्डारीले ३७५ भन्दा बढी विद्यार्थी अध्ययनरत नमादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज ओझा र २९५ भन्दा बढी विद्यार्थी अध्ययनरत मगलेक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक पुष्करबहादुर साउदलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सोही दिन बैंकका विराटनगर सर्कल प्रमुख दशरथ पराजुलीले मोरङको बाललक्ष्मी आधारभूत विद्यालयमा पानी शुद्धीकरण प्लान्ट जडान गरी विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीलाई हस्तान्तरण गरेका थिए । उक्त विद्यालयमा १०७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयहरूलाई प्रदान गरिएको सहयोगले विद्यार्थीको पठनपाठन सहज बनाउन र स्वच्छ पानीको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

















