पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही सहमहामन्त्रीमा निर्वाचित भएका पुष्टि गरेको छ । तर, केन्द्रीय निर्वाचन समितिले भने औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन । कांग्रेसको वेबसाइटमा सहमहामन्त्री (पिछडिएको क्षेत्र) अन्तर्गत कुल खसेको ६ हजार ७२९ मतमध्ये ३३ मत बदर भएको उल्लेख छ ।

उल्लिखित तथ्यांकअनुसार नेता शाहीले ३९०६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी जनकराज गिरीले १३७६ मत ल्याएका छन् । सहमहामन्त्रीका उम्मेदवारहरू राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेको वेबसाइटमा उल्लेख छ । १४औं महाधिवेशनमा पनि उनी पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीका उम्मेदवार थिए । तत्कालीन समयमा शाही नेता डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए । गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका नेता शाही पछिल्लो समय (२ असोज) मा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *