हुलास फिनसर्भको पोर्टफोलियो ३ वर्षमै साढे ४ गुणाले बढ्यो, प्रिमियम मूल्य ३५९ रुपैयाँमा आईपीओ ल्याउँदै
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेको व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले साढे एक अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ आम्दानी गरेकोमा २०२६ मा ५७.७२ प्रतिशतले बढेको हो । यसअघि कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले गत आवको अन्त्यसम्म १२ अर्ब ३४ करोड रुपैयाँ पोर्टफोलियो व्यवस्थापन गरिसकेको छ । कम्पनीले सन् २०२३ सम्म २ अर्ब ६१ करोड रुपैयाँ, सन् २०२४ सम्म ३ अर्ब ४६ करोड ९० लाख रुपैयाँ र सन् २०२५ (आव २०८१।८२) सम्म ८ अर्ब १८ करोड १० लाख रुपैयाँको पोर्टफोलियो व्यवस्थापन गरेकामा एकै वर्ष ५१ प्रतिशतले बढाएको हो । यसरी हेर्दा हुलासको पोर्टफोलियो ३ वर्षमै साढे ४ गुणाले बढेको छ । कम्पनीको हाल नेटवर्थ १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ मा १ अर्ब ४८ करोड ९० लाख रुपैयाँ र सन् २०२५ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ नेटवर्थ थियो । कम्पनीको गियरिङ सन् २०२५ मा ४.१ गुणा रहेकोमा २०२६ मा ५ गुणा पुगेको छ । हुलास फिनसर्भले २ सय ५८ रुपैयाँ ८५ पैसा प्रिमियम सहित ३ सय ५८ रुपैयाँ ८५ पैसा प्रिमियम मूल्यमा २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्दैछ । सेयर निष्काशनका लागि कम्पनीले २०८१ को असोजमै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सन् २०१२ मा हुलास इन्भेष्टमेन्ट प्रालिको नाममा दर्ता भएको यो कम्पनी सन् २०२१ हुलास फिनसर्भ लिमिटेडमा परिणत भएको थियो । कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनीको ८२ प्रतिशत स्वामित्व छ भने बाँकी १८ प्रतिशत विभिन्न संस्था र व्यक्तिहरुको स्वामित्व छ । जसमा हुलास अटो क्राफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको पनि स्वामित्व रहेको छ । कम्पनीले विभिन्न पाँच वटा क्षेत्रमा कर्जाको सुविधा दिँदै आएको छ । कम्पनीले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, घरायसी सामग्री र मोबाइल क्षेत्रमा कर्जाको सुविधा दिँदै आएको छ । गत आवमा कम्पनीले प्रवाह गरेको कर्जामा दुई पाङ्ग्रे सवारी साधन र विद्युतीय सामग्रीको क्षेत्रमा ४५ प्रतिशत, मोबाइल सेग्मेन्ट क्षेत्रमा १८ प्रतिशत र घरायसी सामग्री क्षेत्रमा ५ प्रतिशत कर्जाको व्यवस्थापन गरेको थियो । शेखर गोल्छा अध्यक्ष रहेको यो कम्पनीमा उनको ५ प्रतिशत स्वामित्व छ । ८२ प्रतिशत स्वामित्व रहेको हंशराज हुलासचन्द एन्ड कम्पनी पनि उनकै गोल्छा ग्रुपको हो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ अर्ब ४८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँको रेटिङ गराएको हो । गत आवमा यही कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाखबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको मुख्य व्यवसायमा आएको सुधारलाई पुष्टि गर्दछ । साथै कुल कर्जा ८ अर्ब २ करोड ५५ लाखबाट आधा (५२ प्रतिशत)ले बढेर १२ अर्ब २१ करोड ८५ लाख रूपैयाँ पुगेको छ । कम्पनीले निष्क्रिय कर्जा नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर १.८७ प्रतिशतमा झरेको छ । चुनौतीपूर्ण आर्थिक वातावरणका बावजुद प्रभावकारी असुली प्रक्रियाका कारण खराब कर्जा घटाउन सफल भएको व्यवस्थापनको विश्लेषण छ । नाफा भारीमात्रामा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी ४८.०४ रुपैयाँ पुगेको छ । जबकि गत आवको अन्त्यसम्म ईपीएस २६.०४ रुपैयाँ मात्र थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ । असार मसान्तसम्म कम्पनीको साधारण जगेडामा २८ करोड ३९ लाख रुपैयाँ छ । गत आवमा गरेको करिब ४० करोड नाफामा अघिल्लो आवसम्मको सञ्चित मुनाफा समेत जोड्दा वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ छ । यो कुल सञ्चित नाफाबाट ९३ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

















