काठमाडौं फिल्म फेस्टिभलमा को–को हुँदै छन् सहभागी ?
काठमाडौं । काठमाडौं फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस रिसर्च सेन्टरका प्राध्यापक मार्को मुलर, जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हा सहभागी हुने भएका छन् । काठमाडौंको प्राचिनता, मौलिकता, संस्कार, संस्कृति र परम्परा, मूर्त, अमूर्त तथा अभिलेख सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म फेस्टिभलको आयोजना गर्दै छ । पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिने फेस्टिभलबाट, काठमाडौंभित्र भएका तर, अहिलेसम्म नभनिएका कथाहरुको खोजी हुने, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र गरिमा विश्व थप विस्तार हुने अपेक्षा राखिएको आयोजकले बताएको छ । आमन्त्रित विदेशी कलाकारहरू नेपाली कलाकार तथा चलचित्र क्षेत्र र रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तित्वहरुसँगै उद्घाटन सत्र, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद तथा मास्टर क्लासलगायत कार्यक्रममा सहभागी हुनेछन् । शवाना आजमी १४ गते पर्यटन वोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवादमा सहभागी हुने कार्यक्रम छ । दीप्ति डिकुन्हा ‘सिर्जनात्मक सहरहरूको प्रवर्द्धनका लागि फिल्म र महोत्सव (नर्चरिङ् क्रियटिभ सिटिज थ्रु फिल्म एन्ड फेस्टिभल्स)’ विषयक प्यानल डिस्कसनमा सहभागी हुने कार्यक्रम छ । चलचित्र निर्देशक नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा यागामाता युनेस्को फिल्म सिटी सर्टस्को परिचयात्मक प्रस्तुति गर्ने कार्यतालिका छ । १५ गते पर्यटन बोर्डमा सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरको मास्टर क्लास सञ्चालन हुनेछ । ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बीच चलचित्र सौन्दर्य शास्त्र (द इन्पोटेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एन्ड द इन्टरनेशनल फेस्टिभल सर्किट) मास्टर क्लासको विषय रहेको छ ।
यसै दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य (नेपाल्स फिल्म इन्डस्ट्री पास्ट, प्रिजेन्ट एन्ड फ्युचर)’ विषयमा प्यानल हुनेछ । १३ गते वसन्तपुरमा हुने सम्पदा यात्रा र उद्घाटन सत्र, १५ गते आयोजना हुने अवार्ड सेरेमोनीमा, त्यसै दिन राष्ट्रिय सभा गृहमा आयोजना हुने रेड कार्पेट र पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शन हुनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका फिचर फिल्म, काल्पनिक कथामा आधारित चलचित्र, फिल्म र छोटा चलचित्रहरू -सर्ट फिल्म प्रदर्शन गरिनेछन् । ‘इन्टरनेसनल प्यानोरामा’ अन्तर्गत सशक्त कथा, अद्वितीय आवाज र विशिष्ट सांस्कृतिक दृष्टिकोणको प्रतिनिधित्व गर्ने विश्वव्यापी, समकालीन र स्वतन्त्र चलचित्रहरूको विशेष प्रदर्शन हुनेछन् ।

















