देशले स्वतन्त्रता उपयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प छैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यलाई शपथ गराउँदै ओलीले देशलाई स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको बताए । “अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ ।
देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,” उनले भने । देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको टिप्पणी गरे । गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको भनाइ ओलीको छ । त्यस्तै, पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा मात्र कार्यकर्तामा उत्साह भर्न सकिने बताए । ओलीले पार्टी सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

















