कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता
काठमाण्डौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीको वरीयता तोकेको छ। पहिलो वरीयतामा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा छन्। उपसभापतिमा क्रमशः पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता छ। महामन्त्रीमा क्रमशः प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणाको वरीयता छ। ११ जना सहमहामन्त्रीको पनि वरीयता तोकिएको नेताहरूले जनाएका छन्। जसअनुसार बहादुर सिंह लामा तामाङ, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आंगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य, मो फिर्तोष आलमको वरीयता तोकिएको छ।
सभापति थापाले चार जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कांग्रेस केन्द्रीय कार्यसमितिमा २९७ सदस्य रहनेछन्। पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथ लिएका थिए। लगत्तै सभापति गगन थापाले छठपछि केन्द्रीय समितिको पहिलो बैठक बस्ने जानकारी गराएको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए। सभापति थापाका अनुसार पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले अब कार्ययोजना र क्यालेण्डरअनुसार काम गर्नुपर्नेछ। साथै पन्ध्रौं महाधिवेशनबाट आएको कार्यसमितिलाई निर्वाचन आयोगमा अध्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाललाई दिइएको नेताहरूले जानकारी दिएका छन्।

















