नेपाली कांग्रेसले मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान महिनाभर चल्नेछ । अभियान वडा तहसम्म पुग्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘नयाँ अभियान सुरु गर्दैछौं । हामी लोकतन्त्र बचाउन तयार छौं । कांग्रेस रूपान्तरण गर्न तयार छौं । हामी सारा विभेदहरू अन्त्य गर्ने गरी संघर्ष गर्न तयार छौं,’ पौडेलले भने, ‘हामी तयार छौं भन्ने अभियानअन्तर्गत मंसिर १ गतेदेखि हाम्रा कार्यक्रमहरू सबै जिल्लामा, सबै वडा तहमा सुरु हुन्छन् ।’ कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ । यसक्रममा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरी वडा तहसम्म संगठनात्मक गतिविधि सञ्चालन गरिने छ । अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित झण्डै तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने कांग्रेसको तयारी छ । कांग्रेसले उनीहरूलाई पार्टीको नीति, विधान, जिम्मेवारी र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै संगठनात्मक गतिविधिमा थप जिम्मेवार बनाउने उद्देश्य लिएको छ । महामन्त्री पौडेलका अनुसार उम्मेदवार छनोट प्रक्रिया, त्यसमा पार्टीका सदस्यहरूको सहभागिता र अधिकार, विधानका व्यवस्था तथा १५औं महाधिवेशनबाट पारित नीतिगत र सांगठनिक निर्णयहरू अभियानका प्रमुख विषय हुनेछन् । ‘प्राइमरी प्रोसेस भनेको के हो ? उम्मेदवार चयनमा साथीहरूको संलग्नता र अधिकार के–के हुन्छ ? विधानका विषय के छन् ? र, १५औं महाधिवेशनले के–के पारित गरेको छ ? भन्ने सबै कुरा अभियानमा समेटिन्छन्,’ उनले भने ।

पार्टीको आन्तरिक कार्यशैली सुधारलाई पनि अभियानले प्राथमिकता दिने बताइएको छ । बैठक सञ्चालनको विधि, मर्यादाक्रम, आसन ग्रहण, कार्यक्रम व्यवस्थापन र छलफललाई विषयकेन्द्रित बनाउने विषयमा नेता–कार्यकर्तालाई प्रशिक्षित गरिने पौडेलले बताए । ‘कार्यक्रम समयमा सुरु गर्ने, छोटो बनाउने, विषयवस्तु केन्द्रित भएर अगाडि बढ्ने, बैठकमा प्राथमिकता निर्धारण गर्ने र स्थानीय मुद्दाहरू जोडेर निर्णय गर्ने विषय यसमा आउँछन् । अभियानले पार्टीको आन्तरिक रूपान्तरणलाई व्यवहारमा उतार्ने र संगठन सञ्चालनका क्रममा देखिएका कमजोरी सच्याउने प्रक्रियालाई समेत समेट्ने भएको छ । स्थानीय तहका मुद्दालाई पार्टीका बैठक र निर्णय प्रक्रियासँग जोड्ने र जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताको भूमिका स्पष्ट पार्ने योजना कांग्रेसको छ । महामन्त्री पौडेलले अभियानको आगामी स्थानीय तहको निर्वाचनको तयारी र प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भूमिका प्रभावकारी बनाउनु महत्वपूर्ण पक्ष भएको बताए । ‘कांग्रेस रूपान्तरणको आन्तरिक प्रक्रिया कस्तो हुन्छ ? त्यसले पार्टीका गतिविधिमा कस्तो असर पार्छ ? र, कसरी सच्याउने बाटो तय गरिन्छ ? भन्ने विषयदेखि स्थानीय निर्वाचनको तयारी र प्रतिपक्षीय भूमिका सशक्त रूपमा निर्वाह गर्ने तयारीसम्मका सबै कुरा यस अभियानमा आउँछन्,’ महामन्त्री पौडेलले भने । उनले अभियानको मूल उद्देश्य संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको तयारी र प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउनु रहेको बताए । ‘स्थानीय तहको निर्वाचनको तयारीकै सिलसिला हो यो अभियान । कांग्रेस रूपान्तरण गर्न तयार छौं, प्रतिपक्षको भूमिका सशक्त बनाउन तयार छौं र संगठनको सशक्तीकरणका लागि यसको प्रभावकारिता बढाउन तयार छौं भन्ने यसको मूल उद्देश्य हो,’ पौडेलले भने । यसअघि कांग्रेस सभापति गगनकुमार थापाले कात्तिक १२ गते निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।

१५औं महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पु¥याउन तथा पार्टी संगठनलाई सुदृढ बनाउन अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । ‘आजको जिम्मेवारी उठाउन तयार छौं, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौं । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौं । यो हामीले उठाएको जिम्मेवारी आमनागरिकका बीचमा लिएर जानुपर्छ,’ थापाले भनेका थिए, ‘त्यसकारण मंसिर महिनाभरि ‘हामी तयार छौं’ भन्ने विशेष अभियान सञ्चालन गर्छौं । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ ।’ सभापति थापाले प्रतिपक्षी र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न कांग्रेस तयार रहेको सन्देश आमनागरिकसम्म पु¥याउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए । सभापति थापाले कात्तिक १० मा पोखरा पुगेर एक महिने अभियानका क्रममा पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गरिने अभिव्यक्ति दिएका थिए । वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग अभियानका क्रममा संवाद गर्नुपर्ने उनको भनाइ थियो । मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै सभापति थापाले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । ‘उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियान चलाउनुपर्छ । यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रस्ताव गर्दछु,’ थापाको भनाइ थियो, ‘अब नेताहरू केन्द्रमा मात्र सिमित भएर बस्ने होइन, गाउँ, वडा र टोलसम्म पुग्नुपर्छ ।

स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएको छ । त्यसैले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्छ ।’ कांग्रेसको १५औं महाधिवेशनपछि पार्टी नयाँ सोच र संकल्पसहित अघि बढेको उल्लेख गर्दै उनले विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरेका थिए । ‘नयाँ पुस्तालाई पुरानासँग अनुभव छैन भन्ने लाग्छ भने पुरानो पुस्तालाई नयाँसँग अनुभव छैन भन्ने लाग्न सक्छ । तर नयाँ र पुराना दुवै पुस्तासँग आ–आफ्नै ज्ञान र अनुभव छन् । त्यसैले पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ,’ उनले भनेका थिए, ‘स्थानीय निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी र समुदायलाई उचित अवसर दिनुपर्छ । १५ औं महाधिवेशनपछि नेपाली काँग्रेसले वर्षौँदेखि पार्टीसँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुनः संवाद गर्नुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *