नयाँ दिल्लीमा सीएनआई टोली र राजदूत पाण्डेबीच आर्थिक सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहको औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसँग दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा विशेष छलफल गरेको छ । प्रधानमन्त्री साह बसेको नयाँ दिल्लीस्थित होटल ताज महलमा उक्त भेटवार्ता तथा छलफल सम्पन्न भएको हो । छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राजबहादुर शाह सहभागी थिए । यसैबीच, दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री डा। एस जयशङ्करबीच आजै सोही होटलमा २५ मिनेट भेटवार्ता भएको छ । आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम तय नभए पनि सोमबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र राजघाटमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको ३४ सदस्यीय सरकारी टोली र निजी क्षेत्रका ५३ जना व्यवसायी आफ्नै खर्चमा सहभागी यस भ्रमणमा सम्पन्न परियोजनाको उद्घाटन, नयाँ आयोजनाको शिलान्यास, विभिन्न समझदारीपत्र आदानप्रदान तथा ‘नेपाल–भारत व्यावसायिक मञ्च’ मा लगानी र साझेदारीबारे बृहत् संवाद हुँदै छ । राजदूत पाण्डेसँगको छलफल र प्रधानमन्त्रीको भ्रमणको सन्दर्भ पारेर नेपाल उद्योग परिसङ्घले नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विस्तृत एजेन्डा तथा समाधानका उपायहरू अघि सारेको छ । परिसंघले परम्परागत कूटनीतिमा मात्र सीमित नराखी आर्थिक साझेदारी, लगानी, उत्पादन, प्रविधि र व्यापार विस्तारमा आधारित आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । भ्रमणबाट प्राप्त उपलब्धिलाई कार्यान्वयनमा लैजान स्पष्ट कार्ययोजना, समयसीमा र दुवै देशका निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको परिसंघको धारणा छ । व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवर्द्धनलाई केन्द्रमा राख्दै परिसङ्घले अब व्यापारको आकार मात्र होइन, नेपालको निर्यात क्षमता र व्यापार सन्तुलन सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने जनाएको छ । नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउन गुणस्तर प्रमाणीकरण, क्वारेन्टाइन, प्रयोगशाला परीक्षण र भन्सार प्रक्रिया सहज बनाउँदै पारवहन, रेलमार्ग, सडक तथा एकीकृत जाँच चौकीको प्रभावकारी सञ्चालनबाट व्यापार लागत घटाउनुपर्ने परिसङ्घको एजेन्डा छ । साथै, नेपाललाई उत्पादन तथा औद्योगिक लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न औद्योगिक पार्क, विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर, सडक, सुरुङमार्ग, द्रुतमार्ग र ऊर्जा परियोजनामा सार्वजनिक–निजी साझेदारी नमुना तथा भारतीय निजी क्षेत्रसँग संयुक्त लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । आगामी ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ मा भारतीय लगानीकर्ता र पूर्वाधार विकास कम्पनीहरूको सहभागितालाई प्राथमिकता दिन सकिने समेत परिसङ्घले औँल्याएको छ । पारवहन तथा सम्पर्क सञ्जाल विस्तारअन्तर्गत परिसङ्घले तेस्रो मुलुकसँगको व्यापारलाई प्रतिस्पर्धी र कम लागतको बनाउन भारतका मुन्द्रा, काण्डला र धाम्रा बन्दरगाहसहित निजी क्षेत्रबाट सञ्चालित थप समुद्री, स्थल र हवाई बन्दरगाहमा पहुँच विस्तार गर्न माग गरेको छ । नेपालका सबै एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहलाई सीमावर्ती भारतीय रेल सञ्जालसँग जोड्न, भैरहवा र पोखराका नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई प्रवेश मार्ग खुलाउन तथा द्विपक्षीय र तेस्रो मुलुकको व्यापार सहज बनाउन आन्तरिक जलमार्गको सम्भाव्य उपयोगबारे अध्ययन र पहल गर्नुपर्ने परिसङ्घको सुझाव छ । ऊर्जा सहकार्यतर्फ नेपालमा उत्पादित विद्युत् भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने सम्भावना विस्तार गर्दै दीर्घकालीन विद्युत् खरिद सम्झौता, बजार पहुँच र लगानी सुरक्षामा नीतिगत स्पष्टता कायम गर्नुपर्ने तथा सहकार्यलाई हरित हाइड्रोजन, विद्युतीय यातायात, ऊर्जा भण्डारण र औद्योगिक खपतसम्म लैजानुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत व्यापारमा विद्यमान जटिलता चिर्न परिसङ्घले पाँचवटा मुख्य समस्या र तिनको समाधान समेत प्रस्तुत गरेको छ । जसअन्तर्गत सन् १९९१ मा भएको अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी सम्झौताको धारा तीन संशोधन गरी गैरभारतीय उत्पत्तिका औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा उपकरण, पार्टपुर्जा र जीवनरक्षक औषधि भारत हुँदै नेपाल आयात गर्न सहज बनाउन माग गरिएको छ ।

त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभागका एक हजार एक सय ४५ भन्दा बढी मापदण्ड र भारतीय मानक ब्युरोका तेइस हजार तीन सयभन्दा बढी मापदण्डबीच समकक्षता कायम गरी वस्तु तथा उत्पादन प्रक्रियाको प्रमाणीकरणमा पारस्परिक मान्यता दिन, नेपाली प्रयोगशालाको परीक्षण प्रतिवेदन भारतले स्वीकार गर्न र नेपालमै दुवै देशबाट मान्यताप्राप्त संयुक्त उच्चस्तरीय प्रयोगशाला स्थापना गर्न प्रस्ताव गरिएको छ । यसैगरी, नेपाली निर्यातकर्ताले भारतीय मानक चिह्न प्राप्त गर्न र प्रमाणपत्र नवीकरण गर्न भोगिरहेको प्रशासनिक जटिलता र ढिलाइ अन्त्य गर्न स्पष्ट सहजीकरण संयन्त्र निर्माण गर्न परिसङ्घले आग्रह गरेको छ । फलाम तथा स्टिलजन्य उत्पादनमा लगाइएका प्राविधिक अवरोध तथा संरक्षणात्मक उपाय हटाउन, जुटजन्य उत्पादनमा लगाइएको न्यून मूल्याङ्कनविरोधी शुल्क तथा प्रतिकारी शुल्क खारेज गर्न र नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट जारी डिजिटल स्वच्छता तथा वनस्पति स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलाई भारतीय भन्सारले मान्यता दिनुपर्ने परिसङ्घको माग छ । कृषि उत्पादनको आयात–निर्यातमा अचानक लागू गरिने प्रतिबन्धले किसान, व्यवसायी र उपभोक्तामा अन्योल र आर्थिक जोखिम बढाएको उल्लेख गर्दै परिसङ्घले कोटा प्रणाली हटाई खुला, सहज र पूर्वानुमानयोग्य व्यापार व्यवस्था कायम गर्न पहल गर्नुपर्ने जनाएको छ । दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक संवाद, संयुक्त लगानी र औद्योगिक सहकार्य विस्तार गर्दै नेपाललाई उत्पादन, निर्यात र लगानीको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग हातेमालो गर्न प्रतिबद्ध रहेको परिसङ्घले स्पष्ट पारेको छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *