सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २१ गते
काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटलको ताहाचलस्थित दी सोल्टी काठमाडौँमा सम्पन्न सञ्चालक समितिको २६६औँ बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुसार कम्पनीले हाल कायम १ अर्ब १७ करोड ५१ लाख ५२ हजार ५४० रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत बराबरको बोनस सेयर र कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।
हाल कम्पनीको प्रतिसेयर १० रुपैयाँ अंकित दरका कुल ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता साधारण सेयर सूचीकृत रहेका छन् । सञ्चालक समितिले सिफारिस गरेको उक्त लाभांश पारित गर्न कम्पनीले आगामी ५२औँ वार्षिक साधारण सभा पुस २१ गते मंगलबार आह्वान गरेको छ । उक्त सभा सुन्धारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १०ः०० बजेदेखि सुरु हुने तय भएको छ । यसैबीच, वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म (२१ दिन) सेयर दाखिला खारेज किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा पुस १ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।


















