अस्ट्रेलियाका लागि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरूपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगी धन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगी धन्दा चलाएको बताएको छ ।अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ ।

मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । “अस्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्युल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौँ, अस्पतालले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हस्पिटलले अनधिकृत रूपमा विभिन्न गिरोहहरूले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ ।

नर्भिकको नाम दुरूपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत दिइसकेको जनाएको छ । हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ । र्निभकका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *