बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने गोदावरीमा अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकको ठूलो भीड लाग्न थालेको छ । गोदावरी–४ बाँसपानीमा नयाँ पिङ खोलिएपछि आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै रहेको पिङ खेल्नेको भीड लाग्न थालेको छ । करिब रु २५ लाखको लगानीमा खोलिएको सो पिङ खेल्न अहिले दैनिक २०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । बढिजसो शनिबार धेरै भीड लाग्ने गर्दछ । पिङप्रति आकर्षण बाह्यभन्दा पनि आन्तरिक पर्यटकको मुख्य रोजाइ छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ सञ्चालनमा आउँदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीयको भनाइ छ ।

प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक सङ्ख्या बढी हुने गरेको छ । बाँसपानी पुगेका धनगढीका गजेन्द्र भट्टले भन्नुभयो, “चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाइलो ठाउँ हो, त्यसमा पनि आधुनिक पिङले गर्दा अझ पर्यटक बढ्ने छन् ।” पिङ तराई र पहाडको बीचमा हुँदा अझै सौन्दर्यता बढेको छ । प्रदेशमै पहिलो पटक आधुनिक पिङ सञ्चालन गरेर पर्यटक आकर्षित भइरहेका छन् । आधुनिक पिङ सञ्चालनमा ल्याइएको दुई हप्ता मात्रै भएको सञ्चालक पुस्कर जोशीले बताउनुभयो । गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरिएको अर्का पिङ सञ्चालक हिक्मत महराले जानकारी दिनुभयो । पिङ निर्माण गर्दा धेरै ठूलो लगानी र समय लागेको जनाउँदै उहाँले आगामी दिनमा पिङसँगै जिपलाइन पनि सञ्चालन गर्नेे योजना रहेको बताउनुभयो । आधुनिक पिङ खेल्न आउने एक जनाको रु ३०० र दुई जनाको रु ५०० शुल्क लगाउने गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *