रुसको चेतावनी : अब युक्रेनको पूर्वी क्षेत्रमा मात्र सैन्य चासो सिमित रहँदैन
काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन् ।
पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएको भन्दै मस्कोको रणनीति परिवर्तन गरेको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पु¥याउनुपर्ने उनले बताएको बीबीसीले उल्लेख गरेको छ । यसअघि अमेरिकाले रुसमाथि थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको आरोप लगाएको थियो ।
युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसी भाषीहरूले नरसंहार भोगेको र उनीहरूको स्वतन्त्रता आवश्यक रहेको झुटो दाबीसहित गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
पाँच महिनाको समयावधिमा रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ । यद्यपि, किएभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा रुस सफल भएको छैन ।
फेबु्रअरीदेखि नै पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसी सेनाविरुद्ध प्रतिरक्षाका निम्ति अस्त्रहरू प्रदान गरिरहेका छन् । त्यस्तो सहयोगले रुसलाई आफ्नो लक्ष्य विस्तार गर्न बाध्य तुल्याएको लाभ्रोभको भनाइ छ ।
‘हामीले युक्रेनी राष्ट्रपति भोलोदिमिरे जेलेन्स्कीले नियन्त्रणमा राखेको युक्रेनको भूभागमा हाम्रो क्षेत्रलाई प्रत्यक्ष खतरामा पार्ने अस्त्रहरू राख्न दिन सक्दैनौँ’ लाभ्रोभले रुसी सञ्चारमाध्यमका प्रख्यात टिप्पणीकार मार्गरिटा सिमोनियनसँगको अन्तर्वार्तामा भनेका छन् । सिमोनियन प्रसारण संस्था आरटीका प्रधान सम्पादक हुन् ।
लाभ्रोभले विशेषगरी हिमर्स नामक लामो दूरीमा प्रहार गर्ने रकेट प्रणालीलाई जोड दिएको समाचारमा जनाइएको छ । पछिल्लो समय अमेरिकाले उपलब्ध गराएका ती अस्त्रको सहयोगमा युक्रेनले केही सफलता प्राप्त गरेको छ ।