ग्लोबल आइएमइ बैंकले बढायो एनआरएन खाताको ब्याज
काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत ब्याज कायम गरिएको छ । यसअघि बैंकले बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो । विदेशमा बस्ने नेपालीलाई लक्षित गरि नेपाल सरकारले गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको छ । गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि बैंकले यस्तो सुविधा दिएको हो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए ।
बैंकले भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा डलर खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट÷मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुनेछन् ।