संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताएका छन् । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताए ।
“गठबन्धनको सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ, आगामी निर्वाचनमा देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने पार्टीलाई विजयी गराउनुपर्छ”, नेता सिंहले भने । तत्कालीन (नेकपा)को सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनको भनाइ थियो ।
बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको चर्चा गर्दै नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीले खानेपानीसम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए । उनीहरू ढल र फोहरको व्यवस्थापन राम्रोसँग हुन नसकेकामा आक्रोशित भएका थिए ।