सन्धिखर्क विमानस्थलमा दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले जानकारी दिनुभयो । यस्तै बा२५प८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।
अत्यधिक गतिका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।