सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना कति ?
काठमाडौं । जिल्ला अदातल काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको आज सुनुवाई हुँदैछ ।
लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशविरुद्ध मंसिर २९ गते पुनरावेदनका लागि निवेदन हालेका थिए । सो पुनरावेदन मुद्दाको सुनुवाइ आज हुने सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।
यसअघि धरौटी वा साधारण तारेखमा छाड्न अस्वीकार गर्दै अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । हाल केन्द्रीय कारागार सुन्धारामा रहेका सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन् ।
सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन् । अर्कोतर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ ।
आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएको दाबी उनीहरूले गर्दै आएका थिए ।
यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको बताइएको छ ।
अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ । उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ ।
पीडित भनिएकी किशोरीको सोही २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ । त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ ।
आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ ।