मीनकुमारी राणा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान
काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्यतिथीको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी कबिर राणाकी आमाको स्मृतिमा गतवर्ष स्थापना भएको मीनकुमारी राणा प्रतिष्ठानले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा विभिन्न विधामा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको हो । भक्तपुरको राधे–राधेमा भएको कार्यक्रममा साहित्यविधातर्फ प्रा.डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिएको छ । यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्युदो शहीद माथवरसिंह बस्नेत, पत्रकारिताको माध्यमबाट सशक्त भूमिका खेलेका वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली खेलकुदमा योगदान गरेका वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मीनकुमारी राणाले दिक्षा लिएको बैंकटेश्वर बैंकेटश्वर मन्दिरले सञ्चालन गरेको संस्कृत पाठशाला र उनका छोरा छोरीले अध्ययन गरेको आदर्श माध्यामिक विद्यालय डीएमपीएस सानोठिमीका विद्यालयलाई पनि छात्रबृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलगायतका व्यक्तिहरुलाई सम्मानित गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । आफूले सवैलाई सम्मान गर्ने व्यक्तिहरुलाई नै पुरस्कार दिएको प्रतिष्ठानले राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
यसैगरी कार्यक्रममा सम्मानित व्यक्तिहरु हरिहर विरहीले पुरस्कार ग्रहण गर्न पाउँदा आफू खुसी भएको बताए । अहिले नेपाली राजनीति मूल्यमान्यताभन्दा बाहिर गएको तर्फ इंगित गर्दै विगतमा मीनकुमारीले खेलेको भूमिकालाई सम्झिएर अघि बढ्न सवैलाई आग्रह गरे । यसैगरी प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतले आफू राजनीतिमा लाग्दा सम्मान पाउँनका लागि नभई व्यवस्था परिवर्तन गर्ने उद्देश्य लिएर हिडेको बताए । तर, प्रतिष्ठानले आफ्नो मूल्यांकन गरेकोमा खुसी व्यक्त गरे । यसैगरी साहित्यकार डा. ध्रुवचन्द्र गौतमले साहित्यले समाजलाई चिनाउने काम गरेको बताउँदै सम्मानले आफूलाई खुसी लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले मीनकुमारी प्रतिष्ठानले गरेको कामले आफू पनि उत्साहित भएको बताउँदै आमाको नाम राख्नका लागि छोरा छोरीले गर्ने कर्तव्य पूरा गरेको बताए । भक्तपुरका डीएमपीएस विद्यालय पढ्दाको क्षणको स्मरण गरेका थिए भने सम्मानित व्यक्तिहरुसँगको विगतका कुराहरु सम्झिएका थिए । कार्यक्रममा भक्तपुर कांग्रेस सभापति तथा सांसद दुर्लभ थापाले कबिर राणा र रबि राणाका साथै परिवारसँगको आत्मियताका विषयमा कुरा गर्दै सधैंभरी साथ दिने मीनकुमारीबाट धेरै कुरा आफूले ग्रहण गरेको पनि बताए । साथै पछिल्लो समय नेपाली राजनीतिले अलि बाटो बिराएको बताउँदै यसलाई सुधार गर्नका लागि सवैले जोड दिनुपर्ने बताएका थिए । यसैगरी नेपाली कांग्रेसका युवा नेता तथा देशान्तर मिडिया ग्रुपका प्रधानसम्पादक एवं मीनकुमारीका माहिला छोरा कबिर राणाले आमाको नाममा यति काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आमाको नाम चीरकालसम्म राख्नका लागि आफू र आफ्नो सम्पूर्ण परिवार सधैं क्रियाशील रहेने प्रतिवद्धता जनाए । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय निर्माणका लागि १ लाख ५ हजार सहयोग यही प्रतिष्ठानमार्फत गर्ने घोषणा पनि गरेका छन् ।
उनको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानमा पति कोमलविक्रम राणा संरक्षक रहेका छन् भने कबिर राणा अध्यक्ष छन् । यसैगरी कान्छा छोरा रबि राणा महासचिव रहेका छन् भने नाती बिक्रान्त विक्रम राणा यसको कोषाध्यक्ष रहेका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यमा नारायणी थापा, गायत्री केसी, नन्दु देउजा, अञ्जु खड्का, रितु बस्नेत र जयन्ती देवकोटा रहेकी छन् ।