हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
काठमाडौँ । हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर यतिमा मात्रै उहाँको परिचय सीमित छैन । राणाले नेपालको पहिलो अर्थसचिव हुनुहुन्थ्यो भने कूटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै आफ्नो पहिचान बनाउनुभएको छ । जबराले नेपालको अर्थतन्त्र, समाज, कूटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउनुभएको छ ।
मुलुकको अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पहिचान बनाउनुभएका राणाको ९५ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाबाट पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मनुभएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको थियो । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गर्नुभएका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक हुनुभयो । उहाँले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर÷प्रोजेक्ट अफिसरका रुपमा काम गर्नुभयो ।
जबराले युएनडिपीमा रहेर सन् १९६४–१९७२ सम्म श्रीलङ्का र अफगानिस्तान, सन् १९७२–१९७७ सम्म म्यानमारमा, सन् १९७७–१९८१ सम्म इन्डोनेसिया र सन् १९८१ देखि १९८६ सम्म पाकिस्तानमा काम गर्नुभएको थियो । साथै उहाँ राष्ट्रिय विकास परिषद् सदस्य, गोर्खा ब्रुअरीको अध्यक्ष, हिमालयन बैंकको संस्थापक तथा अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्टरनेशनल सेन्टरको अध्यक्ष, निर्धन उत्थान बैंकको अध्यक्ष, देव शमशेर जवरा सन्तति प्रतिष्ठानको कोषाध्यक्ष, नेपाल उद्योग परिसङ्घको सल्लाहकारका साथै विभिन्न सङ्घ तथा संस्थासँग आबद्ध हुनुहुन्थ्यो ।
राजनीतिमा प्रवेश
सन् १९४४ मा अध्ययनका लागि भारतको बम्बई पुग्नुभएका जबरालाई त्यहाँ बस्दा राजनीतिप्रति रुचि बढिसकेको थियो । भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ अभियान बढ्दै थियो । बम्बईमा उहाँ छात्रवासमा बस्नुभयो । नेपाल र भारतमा भइरहेको राजनीतिक उथलपुथलका कारण उहाँ राजनीतिमा आकर्षित हुनुभएको थियो ।
जबराले २००५ सालमा प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएर २००७ सालसम्म भूमिगत भइ काम गर्नुभयो । भारतमा स्नातककोत्तर तह उत्तीर्ण गरेपछि उहाँ नेपाल फर्किनुभयो । नेपालमा प्रजातन्त्र आइसकेपछि जबरा नेपाल फर्कंनुभएको हो ।
पहिलो अर्थसचिव
नेपाल फर्केपछि जबराको भेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरसँग भयो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गर्नुभएका सुवर्ण धनी पनि हुनुहुन्थ्यो । उहाँलाई अर्थमन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मुलुकमा जम्मा चार जना हुनुहुन्थ्यो ।
अर्थशास्त्रमा जबरा, लीलाप्रसाद लोहनी र परीक्षितनरसिंह राणा तथा वाणिज्यशास्त्रमा कृष्णराज भण्डारी स्नातकोत्तर उत्तिर्ण गर्नुभएको थियो । उहाँहरु चार जनाले नै २००७ साल फागनुदेखि अर्थमन्त्रालयमा काम गर्न थाल्नुभएको थियो । काम थालेको दुई महिनामा कार्यसम्पादनका आधारमा जबरा अर्थसचिव हुनुभयो । उहाँले प्रथम अर्थसचिवका रुपमा २०१२ सालसम्म काम गर्नुभयो ।
पहिलो बजेट
जबरा अर्थसचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन समयमा आम्दानीको स्रोत मालपोत कार्यालयमा आकाशवाणीबाट सन्देश पठाएर आम्दानीको विवरण सङ्कलन गरिएको थियो । पहिलो बजेट सुवर्ण शमशेरसँग मिलेर बनाएपछि उहाँले त्यसपछिका तीन बजेट आफैँले बनाउनुभयो ।
कर फिर्ताको प्रस्ताव
वि.सं २००८ मा तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थसचिव जबरा पनि सँगै हुनुहुन्थ्यो । उहाँले भ्रमणका क्रममा भारतीय नेताहरुसमक्ष त्यहाँ उत्पादन भई नेपाल ल्याइने वस्तुमा भारतले पहिले नै कर लिइसकेकाले नेपालीहरु दोहोरो करको मारमा परेको विषय उठान गर्नुभएको थियो । उक्त प्रस्ताव कार्यान्वयन हुन चार वर्ष लाग्यो । फलस्वरुप भारत सरकारले पहिले उठाएको कर रिफन्ड गर्न थाल्यो र नेपालले वार्षिक रू तीन करोड प्राप्त गर्न थाल्यो ।
नेपाल राष्ट्र बैंक स्थापना
तत्कालीन अर्थपरामर्श दाता सरदार गुञ्जमान सिंहले जबरालाई एक दिन याट्खास्थित घरमा बोलाउनुभयो र केन्द्रीय बैंक स्थापना गर्ने योजना सुनाउनुभयो । तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णय गरिसकेको र बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आयो ।
जबराले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गर्नुभयो । गभर्नरका रुपमा तलब मासिक आठ सय हुन्थ्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयको बुँइगलबाट सबै काम हुन्थ्यो । सुरुमा कुर्सी र टेबुल नहुँदा सबै जना गद्दिमा बसेर काम गर्नुपरेको थियो ।
राष्ट्र बैंकको स्थापनापछि गोविन्दप्रसाद लोहनी अनुसन्धान विभाग प्रमुख र रामराज तुलाधर बैंकिङ कार्यालय प्रमुखमा नियुक्त हुनुभएको थियो । सुरुमा हालको विशाल बजार नजिकको एउटा घर भाडामा लिई केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । बैंकिङ कारोबारका लागि मुलुकीखाना र कौसीतोपखाना उपलब्ध भयो भने नोट विभागका लागि केन्द्रीय कार्यालय नजिकको अर्को घर पनि भाडामा लिइएको थियो ।
नेपाली नोटको चलन र सटही दर
तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गर्नुभयो ।
नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा रू १६० कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ ।
वित्तीय क्षेत्रका अभिभावक गुमायौं- पूर्वगभर्नरहरु
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहनुभएका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेल्नुभएको थियो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका खेल्नुभएका दिवङ्गत जबराको योगदानबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुसँग राससकर्मी हेमन्त जोशीले लिएको प्रतिक्रिया स्
‘प्रतिकूल अवस्थामा अनुकरणीय काम गर्नुहुने व्यक्ति’
–डा. तिलक रावल, पूर्व गभर्नर
जुनबेला उहाँ राष्ट्र बैंकको गभर्नर हुनुभयो, त्यो बेला नेपालको वित्तीय क्षेत्र नाजुक थियो । नेपालको आफ्नो मुद्रा धेरै चलनचल्तीमा थिएन । भारतीय मुद्रा नै बढी प्रचलनमा थियो । निकै कठिन स्थिति थियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले निकै अनुकरणीय काम गर्नुभयो र त्यसलाई सफलरुपमा अघि बढाउन सक्नुभयो ।
वित्तीय क्षेत्रमा उहाँले राष्ट्र बैंकको प्रथम गभर्नरका रुपमा काम गर्नुभयो । उहाँ हामीलाई सधैँ प्रोत्साहन गर्ने र राम्रो सल्लाह दिने व्यक्ति हुनुहुन्थ्यो । वित्तीय क्षेत्रमा पनि उहाँ निकै सक्रिय रहनुभयो । निजी क्षेत्रका बैंक अहिले हामीले जुन अवस्थामा देखिरहेका छौँ, ती संस्था ल्याउनमा पनि उहाँको ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा काम गरिसकेपछि उहाँ संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा पनि जानुभयो । लामो समयसम्म बाहिरै बस्नुभयो । त्यहाँ पनि उहाँले आफ्नो राम्रो कामबाट इज्जत, प्रतिष्ठा कायम गर्नुभयो ।
उहाँबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । उहाँलाई कुनै ठूलो रोग लागेर लामो समय थलिएको सुन्नु परेन । उहाँ खेलकुदमा पनि सौखिन हुनुहुन्थ्यो । गल्फ खेल्नुहुन्थ्यो । आफूलाई सधैँ स्वस्थ राख्नुभयो उहाँले । उहाँले आफ्नो जीवनकाल निकै सक्रियरुपमा बिताउनुभयो ।
व्यक्तिगतरुपमा उहाँसँग मेरो भेटघाट भइरहन्थ्यो । सधैँ राम्रो व्यवहार गर्नुभयो । गभर्नरका रुपमा मैले काम थालेको नौ महिनामै हटाइएपछि म अदालत गएँ । त्यो बेलामा धेरै मानिसले सरकारको उक्त कदमको आलोचना गरेका थिए । त्यसमध्ये राणा पनि एक हुनुहुन्थ्यो । त्यो बेला म माथि आइपरेको आपत्का बेला ठूलो ढाडस दिनुभएको थियो । मेरो कामको प्रशंसा गर्नुहुन्थ्यो र सल्लाह पनि दिनुहुन्थ्यो । उहाँबाट धेरै अनुकरणीय कुरा हामीले पायौँ ।
‘व्यावहारिक र दूरदर्शी नीति निर्माता’
–दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर
यो दुःखद् घटनाबारे बिहान थाहा पाए । उहाँ समग्र राष्ट्र बैंक परिवारको अविभावकका रुपमा रहनुभएको थियो । उहाँको उमेरका कारणले मात्र होइन धेरेका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । राष्ट्र बैंक स्थापनाका लागि उहाँले जुन तत्परता देखाउनुभयो र परिश्रम गर्नुभयो त्यसबाट आएको प्रतिफल हेर्ने हो भने समग्र देशले नै लाभ लिएको छ ।
वि.सं २०१२र१३ सालअघि नेपालमा भारतीय रुपैयाँको चलनचल्ती बढी थियो । उहाँले गैरमुद्रा प्रणालीलाई नियमित गर्नु आवश्यक रहेको भन्दै भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर कायम गर्नका लागि अध्ययन गर्न लगाउनुभयो । त्यतिबेला भारतीय र नेपाली मुद्राको जुन विनिमय दर कायम भएको थियो त्यो अहिले पनि कायमै छ । यद्यपि, बीचमा केही तलमाथि पनि भयो । वि.सं २०१३ मा कायम गरिएको विनिमयदर अहिले २०७९ सालसम्म पनि कायम भइरहेको छ भने कति दूरदर्शी र व्यावहारिक भएर त्यो निर्णय गरिएको थियो भन्ने बुझ्न सकिन्छ । राष्ट्र बैंकले अध्ययन समिति बनाएर विभिन्न ठाउँमा अध्ययन गरेपछि एक सय भारतीय रुपैयाँ बराबर एक सय ६० नेपाली रुपैयाँ कायम गर्ने भनेर उहाँले नै निर्णय गर्नुभएको थियो ।
अर्को महत्वपूर्ण कुरा, नेपाल विश्वव्यापार सङ्गठन ९डब्ल्युटीओ० को सदस्यता लिने विषयमा अध्ययन गर्नका लागि एउटा समिति गठन भएको थियो । त्यो समिति राणाकै अध्यक्षतामा थियो । म सदस्यका रुपमा थिए । उहाँसँग काम गर्दा मैले उहाँको नेतृत्व गर्नसक्ने क्षमता र उहाँमा विषयवस्तुको गहनता कति छ भन्ने अनुभूति गर्न पाएँ । उहाँको दृष्टिकोण अनुकरणीय थिए ।
पछिल्लो समय उहाँ शारीरिकरुपले कमजोर हुनुभएको थियो । तर राष्ट्र बैंकको कार्यक्रम भनेपछि पूर्वकर्मचारीको कार्यक्रम होस् वा अरु कुनै सम्बन्धित कार्यक्रम हुन त्यसमा उहाँले संरक्षक र उत्प्रेरकको भूमिका खेल्नुभयो । अरुलाई सम्मान गर्ने, अरुको कुरा धैर्यतापूर्वक सुन्ने र आफू थोरै बोल्ने गुण उहाँमा थियो । राष्ट्र बैंकले कहिलेकाहीँ पूर्वगभर्नरलाई बोलाएर छलफल गर्ने हुँदा सबैले विश्वासिलो अविभावकका रुपमा हेथ्र्यौं ।
‘असल प्रशासक, सफल गभर्नर र प्रजातन्त्रको वकालत गर्ने नागरिक अगुवा’
–डा. युवराज खतिवडा, पूर्वगभर्नर एवं पूर्वअर्थमन्त्री
हिमालय शमशेर जबरा नेपालको मौद्रिक इतिहासको एक महान व्यक्ति ९लेजेन्ड्री० हुनुहुन्छ । त्यसका केही महत्वपूर्ण कारणहरु छन् । विश्वमा केही सङ्ख्यामा मात्र मुलुक होलान्, जहाँ केन्द्रीय बैंकको पहिलो गभर्नर र सत्रौँ गभर्नर सँगै बसेर छलफल गर्नसक्ने अवसर मिलोस् ।
म राष्ट्र बैंकको १५औँ गभर्नरका रुपमा काम गर्दा त्यो अवसर पाएँ । संयोग कस्तो भने मेरो जन्म, नेपाल राष्ट्र बैंकको जन्म र हिमालय शमशेर जबरा गभर्नर भएको एउटै वर्ष हो । म जन्मँदा गभर्नर रहनुभएको व्यक्तिलाई म गभर्नर हुँदा समयसमयमा सुझाव सल्लाह लिन्थे । उहाँले गर्नुभएका कतिपय कामलाई स्मरण गर्न पाउने हामी भाग्यमानी हौँ ।
राष्ट्र बैंक स्थापना भएको बेलाको गभर्नर भएका कारणले केन्द्रीय बैंकमा उहाँले पहिलो काम भारतीय रुपैयाँलाई क्रमशः विस्थापित गर्ने र नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउने गर्नुभयो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमयदरमा स्थिरता ल्याउन उहाँले पहल गर्नुभयो । नेपाल राष्ट्र बैंकका शाखा देशका विभिन्न स्थानमा खोल्न लगाएर भारतीय रुपैयाँको सट्टा नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउने कामको थालनी पनि उहाँबाटै भएको हो । भारतीय मुद्राको समानान्तररुपमा नेपाली मुद्रा चलिरहेको अवस्थामा त्यसलाई कानुनी मुद्राका स्थापित गर्नु त्यो बेला सामान्य विषय थिएन ।
केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि नेपालको विदेशी मुद्रा सञ्चिति भारतीय रिजर्भ बैंकमा हुन्थ्यो । हाम्रो विदेशी मुद्रा हाम्रै केन्द्रीय बैंकको प्रणालीमा लिएर आउने काम पनि उहाँको पालामा भयो । नेपालको पहिलो आवधिक योजना पनि २०१३ सालमा सुरु भएको हो । योजनाबद्ध विकास सुरु गर्ने सन्दर्भमा राष्ट्र बैंकले नेतृत्वदायी भूमिका खेल्नुपथ्र्यो । त्यो काम उहाँको पालाबाट सुरु भयो । उहाँ आफैँ पनि नेपाल सरकारको सचिवबाट आउनुभएको हुनाले वित्तीय योजना निर्माणमा सिद्धहस्त नै हुनुहुन्थ्यो । केन्द्रीय बैंक स्थापना भएदेखि नै उहाँले त्यसलाई स्वायत्त निकाय हो भनेर कतिपय ठाउँमा अडान लिनुभएको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घमा काम गर्दा होस् अथवा देशका विभिन्न राजनीतिक परिवर्तनसँगै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारका पक्षमा नागरिक समाजको अगुवा भएर बोल्नुहुन्थ्यो । नागरिक अगुवाका रुपमा क्रियाशील र लोकतन्त्रका पक्षमा काम गरिरहने व्यक्तिका रुपमा उहाँ रहनुभयो । राणा परिवारमा जन्मिएर पनि लोकतन्त्रका पक्षमा त्यति बलियोसँग उभिने व्यक्ति उहाँ हुनुहुन्छ । असल प्रशासक, केन्द्रीय बैंकको सफल नेतृत्व गर्ने व्यक्ति, संयुक्त राष्ट्रसङ्घमा सफल ढङ्गले काम गर्नुभएको ‘इन्टरनेसनल ब्युरोक्य्राट’ र नागरिक समाजमा स्थापित व्यक्तित्वका रुपमा हामीले उहाँलाई चिन्छौँ ।
‘नेपालमा वित्तीय क्षेत्रको जग बसाल्ने व्यक्ति’
–डा. चिरञ्जीवी नेपाल, निवर्तमान गभर्नर
उहाँ नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा हामीले अविभावक भनेर सम्झिन्छौँ । नेपालको वित्तीय क्षेत्रको आधारशिला निर्माण गरेको, जग बसालेको व्यक्ति हो उहाँ । नेपाली मुद्रालाई नेपालभित्र चलनचल्तीमा ल्याउन सुरु गरेको व्यक्तिका रुपमा चिनिनुहुन्छ । त्यो भन्दाअघि नेपाली मुद्रा बजारमा थिएनन् । तर उहाँले नेपाली बजारमा नेपाली मुद्राको कारोबार गर्ने व्यवस्था ल्याउनुभयो । केन्द्रीय बैंकको प्रथम गभर्नरका नाताले वित्तीय क्षेत्रको आधारशिला नै उहाँले निर्माण गर्नुभएको हो ।
व्यक्तिगतरुपमा उहाँ निकै सरल, धेरै कुरामा समन्वय गर्ने, उपयुक्त सुझाव दिने, कुनै कार्यक्रममा बोलाउँदा सजिलै आइदिने सहज व्यक्ति हुनुहुन्थ्यो । यो उमेरसम्म पनि अत्यन्तै सक्रिय रहनुभयो । केन्द्रीय बैंकको गभर्नरका रुपमा मैले केही कुरा सोध्दा उहाँ आफ्ना कुरा स्पष्ट ढङ्गले राख्नुहुन्थ्यो ।