‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’

सपना प्रधान मल्ल कामु प्रधानन्यायधीश
सर्वप्रथम कानून दिवस, २०८३ को अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालाई संस्थागत गर्दै मुलुकमा सुशासन विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न र सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय प्रणालीको लागि आज यो विशेष दिनले हामी सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछु । नेपाल प्रधान न्यायालय २००८, विसं २००९ वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशख २६ को दिनलाई कानून दिवसलाई मनाउँदै आइएको छ । शक्तिपृथकीकरणको सिद्धान्त अनुरुप राज्यका प्रमुख अंगहरू कार्यपालिका, व्यवस्थापिका बीच राज्यशक्तिको विभाजन गर्दै न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि यस ऐनले स्थापना गरेको जगमा नै आजको आधुनिक न्याय प्रणालीसम्मको यात्रा तय हुनसकेको छ । यस विषेश समारोहमा सम्माननीय राष्ट्रपतिको विशेष उपस्थितिले हामीलाई अत्यन्तै गौरवानुभूति भएको छ । सम्माननीयज्यूप्रति हार्दिक कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छु । संविधान राज्य सञ्चालनको कानूनी दस्तावेज मात्रै नभएर नागरिकको जीवन पद्धतिको रुपमा रहनुपर्छ । त्यसबाट नै आम नागरिकलाई संवैधानिक शासकीय परिवर्तनप्रति वास्तविक अनुभूति हुनसक्छ । आजको यस विशेष दिनमा हामीले यही मूल्यमान्यतालाई राज्यको तीनै अंगले आत्मसात् गर्दै उच्च समर्थनभावका साथ क्रियाशील रहन र योगदान गर्न सकौं भन्ने कामना गर्न चाहन्छु । न्यायिक इतिहासको अत्यन्तै जटिल र कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यतालाई अक्षुण्ण राख्दै संविधानको मर्यादाको आधारमा कार्यकारिणीको स्वेच्छाचारी र अनुचित हस्तक्षेपबाट यस संस्थालाई सुरक्षित, न्यायिक मान्यतालाई कायम राख्न योगदान गर्ने पूर्वप्रधानन्यायाधीश, सम्पूर्ण न्यायकर्मीलाई नमन गर्दै उच्च सम्मान गर्न चाहन्छु । आजको दिन संविधानको इमानदार कार्यान्वयन र पालन गर्ने विधिको शासनको रक्षा गर्न प्रतिबद्धता देखाउने दिन हो । हामी सबै प्रजातन्त्र र कानूनी राज्यका सञ्चालक र सरोकारवालाहरूले संविधान, विधिको शासन, लोकतन्त्रको सही संरक्षण र कार्यान्वयनको लागि गरेको प्रयास र चुकेको दिनको आत्मसमीक्षा गर्ने पनि आजको दिन हो । अनपेक्षित भदौ २३ र २४ मा भएको घटनापछि हामी विषम परिस्थितिमा पुगेका थियौं । अत्यन्तै कठिन घडीमा क्षति भएका संरचना पुनर्स्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नेपाल बार एशोसिएसन, नागरिक समाजले न्याय पालिकालाई गरेको सहयोगप्रति हामी हार्दिक प्रशंसा गर्छौं । साथै, सेवाग्राहीको संयम र धैर्यलाई पनि धन्यवाद दिन चाहन्छु । न्यायपालिका पुनरुत्थानतर्फ अग्रसर भएको छ । निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन, कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन । तर, कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधार र प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानूनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ । न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेका छैनौं भन्ने प्रश्न उठेको छ । आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालिक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको छ । यदि यस्तो प्रवृत्तिलाई संवैधानिक, शासीय संरचनात्मक प्रक्रियाको कुनै पनि स्थितिमा ग्राह्य, सह्य वा प्रतिरक्षात्मक स्थितिले काम गर्‍यो भने तत्कालको आफ्नो शक्तिको उन्मादमा सहन वा पुष्टि गर्न खोजियो भने पनि यसको अनिश्चयता बुझ्न सकिनेछ । एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन । संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानको विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकको रुप सिंगार्न सकिंदैन । संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन । संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धीत त मर्ला, तर विधि र विधिसंगतको अपेक्षा राख्नेको सपना भंग हुने तय छ । विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ । औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता, शासकको स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेका लागि सह्य हुँदैन । यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्ने कुरा हो, विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्छ ।
यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतस् सुरक्षित हुन्छ भनेर हामी मान्न सक्दैनौं । सम्माननीय सभामुखज्यूले एकठाउँमा अभिव्यक्त गर्नुभएको थियो कि, न्यायपालिका पनि सरकारको स्पिरिटमा चल्न सक्छ रु म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ । सरकारको स्पिडमा चल्न सक्छ, संविधानको स्पिरिट र सरकारको स्पिड । तब न्यायपालिका चल्न सक्छ, जब न्यायपालिकालाई स्रोतले सम्पन्न बनाउन सक्नुहुन्छ । अनि म सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुईतिहाइ सरकारको डर नै किन नहोस् । चाहे त्यो महाभियोगको डर नै किन नहोस् । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहींबाट आह्वान गर्न चाहन्छु । म आफैं जीवनभर विभेद र अन्यायको लडाइँ लडें कानून व्यवसायी हुँदादेखि नै । लडाइँ अझै बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हाम्रो समयलाई आजको दिनले थप प्रेरणा देओस् । यस गम्भीर र कहालीलाग्दो समयमा संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रतालाई संरक्षण गर्नका लागि आम नागरिक, नेपाल बार एशोसिएसन, आम सञ्चार, नागरिक समाज लगायत सबै सरोकारवाला संस्था र व्यक्तिहरूलाई हार्दिक अपिल गर्दछु ।
सम्माननीय राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, यो कार्यक्रममा हजुरहरूको अभिभावकत्वका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । कानून दिवसको विशेष र गरिमामय अवसरमा राज्यका सम्पूर्ण अंगहरूको मधुर पुनर्मिलन हुने सुखद एवं प्रेरणादायी परम्पराले सगर्व निरन्तरता पाउँदै आएको छ । यस परम्पराको आज पनि जीवन्त साक्षी बन्न पाउँदा एवं राज्यका विभिन्न अंगहरूका सम्माननीय प्रतिनिधिहरूसँग एकै छानामुनि उपस्थितिको अनुभूति हुन पाउँदा हामी अत्यन्तै हर्षित छौं, गौरवान्वित छौं । अन्त्यमा यस विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको गरिमामय समुपस्थितिले हामीलाई अत्यन्तै गौरवको अनुभूति दिएको छ । सम्माननीयज्यूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै, हाम्रो आमन्त्रणालाई स्वीकार गर्दै उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरूमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै कानून दिवसको अवसरमा यहाँहरू सबैमा शुभकामना व्यक्त गर्दछु । धन्यवाद । नमस्कार ।
(शनिबार कानून दिवसको अवसरमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले राखेको विचारको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका हौं ।)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *