सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?

काठमाडौं । संसद्‌मा ठूलो पार्टी भएर पनि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस सत्ताको खेलबाट भने बाहिरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सत्ताको खेलमा सहभागी कांग्रेसले माओवादीसँग सम्बन्ध सुधारेर कुनै न कुनै रुपमा सत्ताको हिस्सेदार बन्ने प्रयास गरिरहेको छ । राष्ट्रपतिमा एकलव्य दृष्टि राखेको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदावरविरुद्ध उम्मेदवारी नदिएर त्यसको प्रस्ट संकेत दिएको छ ।

तत्कालीन सत्ता गठबन्धनको एउटा मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिन नमान्दा संघदेखि प्रदेशसम्मै सत्ताबाट बाहिरिएको कांग्रेस फेरि सत्तामा फर्किने प्रयासमा छ । सत्तामा फर्किन उसले पहिले जोसँग कुरा मिलेन, उसैसँग सम्बन्ध सुधार गरिरहेको छ । माओवादीसँग सम्बन्ध सुधारेर मात्र सत्तामा पुग्न सकिने बुझेको कांग्रेसले चरणबद्धरुपमा त्यही नीति अवलम्बन गरेको छ ।

कांग्रेसको नजर अब राष्ट्रपतिमा
फरक गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाललाई विश्वासको मत दिएर माओवादीसँग नजिकिने प्रयास गरेको कांग्रेसले आइतबार माओवादीकै उम्मेदवार रहेको राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नै दिएन । माओवादीलाई सघाउने तर अरुसँग प्रतिस्पर्धा गर्ने नीति प्रदेशसभामा पनि देखियो । राष्ट्रपतिमा माओवादीको साथ खोज्ने उद्देश्यले कांग्रेसले माओवादीलाई सघाइरहेको स्पष्टै हुन्छ ।

पुस २६ मा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि झस्किएको एमाले त्यसयताका घटनाक्रमका कारण थप सशंकित छ । सहमतिमा राष्ट्रपति चयन गरिने माओवादीको भनाइले पनि एमालेको शंकालाई बल पुर्‍याइरहेको छ । तर एमाले नेताहरू भने पुस १० मा भएको सहमतिअनुसारै एमालेले राष्ट्रपति पाउने दाबी गर्न छाडेका छैनन् ।

सत्तागठबन्धनलाई भत्काउने रणनीति अख्तियार गरेको नेपाली कांग्रसले विपक्षी गठबन्धनलाई समेत बलियो बनाउँदै गएको छ । सरकारको नेतृत्व गरेको माओवादी र सरकार बाहिर रहेका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको सहयोगमा फेरि सत्तारोहण गर्ने कांग्रेसको योजना पूरा होला त ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *