हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते


काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको गर्ने तयारी रहेको सिभिल बैंकका मर्जर समिति संयोजक तथा सञ्चालक समिति सदस्य अम्बिर बोगटीले बताए । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द हुने बताए । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मको डेडलाइन तोकेको छ ।
हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । ‘हिमालयन बैंकको सञ्चालक समिति एक वर्षसम्म निरन्तर हुन्छ, अर्को साधारणसभा नहुञ्जेलसम्म त्यहि सञ्चालक समिति मान्य हुन्छ, एक वर्ष पछि चुनाव हुन्छ, त्यसपछि सिभिल र हिमालयन दुवै बैंकबाट भन्ने हुँदैन, सबै आ–आफ्नो हिसावमा सञ्चालक बन्छन्, एक वर्षका लागि हामीले त्याग गरेको हो । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल पोखरेलस्वेच्छिक अवकास सुविधा भिआरएसमा बाहिरिने छन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति भएपनि भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । पछिल्लो समय कर्मचारीहरुको पद घटुवा गरेको भन्दै विरोध जनाएका थिए । तर, कर्मचारीहरु सबै सेवा सुविधा र पद यथावत रहेको बैंकले बताएको छ । सञ्चालक बोगटीले सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताए । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *