रविको पार्टीमा विवादित छवि भएका हाबी, शिशिर–विराजभक्त केन्द्रीय समितिमा अटाएनन्

काठमाडौं । अन्य दलभन्दा आफूलाई फरक दल भनेर दाबी गर्ने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आपराधिक चरित्र बोकेकाहरूको अखडा बन्ने देखिएको छ । अलि भिजन र विचार बोक्नेलाई केन्द्रीय सदस्यसम्म नबनाउने, तर सामाजिक सञ्जालमा धेरैभन्दा धेरै गाली गर्नेलाई रविले धमाधम केन्द्रीय सदस्य मनोनीत गरिरहेका छन् ।

हुन त रवि आफैं पनि नेपालदेखि अमेरिकासम्म प्रहरी र अदालतमा मुद्दा परेका विवादास्पद व्यक्ति हुन् । अमेरिका बस्दा रवि लामिछानेविरुद्ध पनि नौवटा मुद्दा चलेको देखिन्छ। त्यसमध्ये चारवटा मुद्दामा उनी दोषी ठहर भएका छन् । एउटा मुद्दा त अहिले पनि चलिरहेको छ। उनीविरुद्ध अमेरिकामा मुद्दा रहेकोबारे सामाजिक सञ्जालमा दाबी आएपछि बन्द भइसकेका मुद्दाको विवरण ल्याएर बदनाम गर्न खोजेको भन्दै प्रतिवाद गरेका थिए। तर केही मुद्दामा आफू दोषी समेत ठहरिएको तथ्य लुकाएका थिए।

उनीविरुद्ध नेपालमा नागरिकता र राहदानीबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। निष्क्रिय नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै ठहर हुँदा उनको मन्त्री र सांसद पद गुमेको थियो। उनी वैशाखमा चितवन २ मा हुने उप निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। तर दोहोरो राहदानी प्रयोग गरेको घटनाले उनी सजायको भागीदार बन्ने अवस्था पनि छ ।

उनै रविले राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा १६ जना मनोनीत गर्दा २४ वर्ष अमेरिकामा बसेका मोहन थापालाई केन्द्रीय सदस्य बनाएका छन् । म्याग्दीका थापा अमेरिकामा भने बाल्टिमोरमा बस्दै आएका थिए। लामो समयदेखि पार्टीका लागि काम गरेका भनिएका उनको पृष्ठभूमि भने पूरै आपराधिक छ। उनीविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको मात्रै हैन अधिकांश मुद्दामा दोषी ठहर भएका छन्। उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्तिसमेत हुन्। उनलाई रविको गुरुसमेत मानिन्छ ।

यस्तै, जापानमा इलिगल भई नेपाल डिपोट गरिएका ज्वाला संग्रौला पनि केन्द्रीय सदस्य बन्न सफल भएकी छन् । ज्वाला श्रीमानसँगै आफूसमेत सरकारी कागजपत्र किर्तेमा पक्राउ परेर प्रहरी हिरासत पुगेकी व्यक्ति हुन्। सामाजिक सञ्जालमा तथानाम लेख्न सक्रिय उनीविरुद्ध प्रहरी कर्मचारीलाई रंगभेदी व्यवहार गरेको आरोपसमेत लागेको थियो।

आपराधिक चरित्र भएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा रविले शिशिर खनाल, मनिष झा, डा.तोसिमा कार्की, विराजभक्त श्रेष्ठलगायतलाई भने केन्द्रीय समितिमा लैजान चाहेका छैनन् । उनीहरूलाई केन्द्रीय समितिमा लैजाँदा आफूमाथि अंकुश लाग्ने भयले रविले उनीहरूलाई केन्द्रीय सदस्य नबनाएको बताइन्छ । एउटै गणेश कार्की भारी परेका बेला शिशिर, विराजभक्तका कारण झन् अप्ठेरो हुने भन्दै रविले उनीहरूलाई केन्द्रीय सदस्य नबनाएको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *