अधिकतम १०दिनभित्र राजनीति नयाँ कोर्ष सिर्जना हुने संभावना बन्दै छ : कांग्रेस सचेतक लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दावी उल्लेख गरेका छन् ।
आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफल कार्यक्रममा प्रमुख सचेतक लेखकले नेकपा एमालेले धैर्य गर्न नसकेकाले विचलनमा पर्दै अस्थिर राजनीति देखिएको समेत उल्लेख गरेका छन् । सो कारण वर्तमान राजनीतिमा अस्थिरता झन बढी पैदा हुँदै गएकाले आगामी नेपालको राजनैतिक अवस्थामा स्थिरता ल्याउनकै लागी र देशको राजनैतिक गतिविधिमा देखिएका समस्याहरुको समाधानका लागि अबको राष्टपतिको पद नेपाली कांग्रेसको हातमा हुनुपर्नेमा जोड दिए ।
सबभन्दा ठूलो राजनीतिक दल कांग्रेससँग मतभार बढी रहेको भन्दै उनले राष्ट्रपति निर्वाचनमा आफूहरु आशावादी रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको लेखकको भनाइ रहेको छ ।
एमालेले जुनसुकै बेला पनि प्रतिनिधि सभा विघटन गर्ने तथा ‘जुनसुकै बेला संसद विघटनको चाहना राखेर अघि बढ्ने देखिएकाले संविधानको रक्षा गर्न नसक्ने समेत उनले उल्लेख गरेका छन् ।
संविधानको रक्षा तथा सार्थक कार्यान्वयनसँग जोडिएको पदमा कांग्रेसको दाबी रहेकाले ‘राजनीति नयाँ कोर्षमा अघि बढ्दै गएको बताएका छन् । अबको अधिकतम १० दिनभित्र नयाँ परिस्थिति सिर्जना हुने सम्भावना रहेको उनले जानकारी दिए ।