पृथ्वीबहादुर शाह काण्डले जनार्दन शर्मा संकटमा, मिलेमतोको आशंका
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा अहिले नैतिक संकटमा परेका छन् । अर्थमन्त्री भएका बेला व्यवसायीको आवरणमा विदेशबाट रकम लुटेर ल्याउने पृथ्वीबहादुर शाहलाई ३८ करोड रकम झिक्न अनुमति दिएपछि माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका शर्मा विवादमा परेका थिए । शर्मालाई कन्भिन्स गराएरै उनले विदेशबाट ल्याएको रकम बैंकबाट झिक्न अनुमति दिएका थिए । नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत शाहलाई पैसा झिक्न दिइएपछि शर्माको पनि मिलेमतोको आशंका गरिएको थियो । तर, उनले आफ्नो मिलेमतो नभएको दाबी गर्दै आइरहेका छन् ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । गृह मन्त्रालयको समेत प्रचण्डले नै जिम्मेवारी सम्हालिरहेका छन् । अहिले उनै शाहमाथि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शाहले कहाँ कसरी ठगी गरेका थिए भनेर विस्तृत जानकारी बाहिरिसकेको छ । सीआईबीका अनुसार अमेरिकी, क्यानेडेली र बेलायती नागरिक ठगेर नेपाल भित्र्याएको ३७ करोड ५७ लाख रुपैयाँ उनले अपचलन गरेको खुलेको छ ।
विदेशबाट ल्याएको रकमबाट उनले घर निर्माण, जग्गा, सेयर तथा सुन खरिद गरेका थिए । बिमा र अन्य वित्तीय कम्पनीमा समेत उनले लगानी गरेको पाइएको छ । अनुसन्धानमा संलग्न सिआइबीका एसएसपी दिनेश आचार्यले विदेशी नागरिक ठगी गरी नेपाल भित्र्याएको रकमबाट शाहले घरजग्गादेखि सेयरमा लगानी गरेको बताएका छन् ।
सिआइबीका अनुसार शाहले अमेरिकाबाट मात्रै ४५ लाख ४६ हजार ६ सय ३९ डलर (६० करोड एक लाख ५६ हजार तीन सय ४८ रुपैयाँ) ठगी गरी नेपाल भित्र्याएका थिए । क्यानडाबाट तीन लाख ४० हजार क्यानेडियन डलर (तीन करोड ३० लाख ३१ हजार रुपैयाँ) र बेलायतबाट पाउन्ड स्ट्रलिङ २२ हजार –३५ लाख पाँच हजार दुई सय ६० रुपैयाँ) गरी कुल ६३ करोड ६६ लाख ९२ हजार ६ सय आठ रुपैयाँ ठगी गरेका थिए ।
जसमध्ये शाहलाई जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनले ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ बैंक खाताबाट झिक्ने अनुमति पाएका थिए । प्रहरीका अनुसार सोही खाताबाट उनले ३७ करोड ५७ लाख ६९ हजार ५१ रुपैयाँ झिकिसकेका थिए ।
ठगीबाट प्राप्त २४ करोड ८० लाख ३० हजार चार सय ७२ रुपैयाँ अझै बैंकमा ‘होल्ड’ गरिएको छ । शाहले अमेरिका, क्यानडा र बेलायतका ५६ व्यक्तिलाई ठगेका थिए । ठगिनेमध्ये २४ पीडितले सिआइबीमा जाहेरीसमेत दिएका छन् । उनीहरूले आफूहरूबाट शाहले ३८ करोड १७ लाख ९५ हजार चार सय ८० रुपैयाँ -२८ लाख ९२ हजार तीन सय ९० अमेरिकी डलर) ठगी गरेको भन्दै जाहेरी दिएका छन् । पृथ्वीबहादुर शाह आफूलाई पत्रकारसमेत भएको बताउने गर्छन् ।
उनले सूचना विभागबाट पत्रकार परिचय पत्रसमेत लिएको बुझिएको छ । फरवार्ड स्वभाव भएका शाहले छोटो समयमै करोडौं ठगी गरेको देखिएको छ । विदेशी नागरिक ठगेर ल्याएको पैसाले उनले विवाहमा श्रीमतीलाई साढे दुई करोडको सुनको गहनासमेत किनिदिएको तथ्य खुलेको छ । उनले माओवादी नेता शर्मासँग कसरी सम्बन्ध बढाए भन्ने बारेमा पार्टीभित्रै छानबिन चलिरहेको बताइन्छ ।