राष्ट्रपति भण्डारीका ७ वर्ष,कहिले छाड्लिन् शीतलनिवास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ रहेको जानकारी दिंदै राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘सम्भवतः २९ भित्र सरिसक्नु हुनेछ ।’

संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ ।२०७२ सालको संविधान अनुसार २९ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीले ७ वर्ष राष्ट्रपतिका रूपमा व्यतीत गरिन् । राष्ट्रप्रमुखमा महिला निर्वाचित गरेको भनेर नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा पनि पायो ।

तर ७ वर्ष मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा रहँदा भण्डारीले आमआलोचना पनि खेप्नुपरेको छ । राष्ट्रपति भण्डारीले खेप्नुपरेको सबैभन्दा गम्भीर आरोप हो– दलीय आस्था र मातृ पार्टीको नेतृत्वको आग्रहबाट माथि उठ्न नसक्नु।

राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीको सदस्यता त्याग्ने अभ्यास छ । राष्ट्रपति भण्डारीले पनि सदस्यता त्याग गरिन् । तर, कतिपय व्यवहारमा भने पार्टी नेताकै हैसियतमा सक्रियता देखाइन् ।

नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *