माघ महिनामा महंगी ७.८८ प्रतिशत पुग्यो

काठमाडौं । माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता महंगी ७.८८ प्रतिशत रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो महंगी ६.२४ प्रतिशत रहेको थियो । यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको महंगी ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महंगी ९.२२ प्रतिशत रहेको राष्ट्रबैंकले जनाएको छ ।

बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महंगी रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत महंगी रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *