सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
भक्तपुर । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाले लिबालीमा सहकारी पसलको शाखा विस्तार गरेको छ । उक्त सहकारीको पसल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रजापतिले सहकारी संस्थाहरुले आफ्नो व्यापार व्यवसायबाट धेरै नाफा कमाउने भन्दा पनि सदस्यहरुलाई सुविधा दिने र नेपाली उत्पादनलाई प्राथमिकतामा दिएर पसल सञ्चालन गर्नुपर्ने बताए। बिचौलियाहरुको अन्त्य गर्न सहकारी पसलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पसलमा सर्वसुलभ तथा गुणस्तरीय सामान बिक्री वितरण गर्नतर्फ जोड दिन प्रेरित गरे । ‘जनसमुदायको विश्वास कायम गर्नु पनि अर्को सफलता हो । उपभोक्ताहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाएर कानुनले दिएको उपभोक्ता अधिकार प्रयोग गर्न सक्षम बनाउनु आजको आवश्यकता हो । भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सर्वसुलभ सहकारीले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सेवा अगाडि बढाउनु आफैमा सफलता हुने बताए । संस्थाका संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजूले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै सहकारी पसल बिहान ७ देखि राती ९ बजेसम्म खुल्ने बताए । सहकारी पसलले स्थानीय उत्पादनहरु ताइचिन, चिउरा, भुटेको तोरीको तेल, परम्परागत नेवारी कपडा र पोशाकहरुको समेत विक्री गरिने अवगत गराए । कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखा, उपाध्यक्ष बद्री लाखा, कोषाध्यक्ष नारायणमान वनमाला, सल्लाहकार कृष्णभक्त लवजू लगायतको उपस्थिती रहेको थियो ।