भौतिक पूर्वाधार मन्त्रालयमा माखो नमारेका नारायणकाजी गृहमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन महिनामा सातौंपटक विस्तार गरे पनि मन्त्रिपरिषद् अझै अपूर्ण रहेको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकाहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै माओवादीका दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर भएको छ । अब उनी गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ भाँडभैलो गरेर राष्ट्रिय सभा सांसद बनेका थिए ।
पद नभई बस्नै नसक्ने स्वभावका श्रेष्ठले धम्की दिएकै भरमा प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रालय पाएका थिए । तर भौतिक पूर्वाधारमन्त्री भएदेखि यो एक सय दिनमा उनले काम भने माखो मारेनन् । उनको तीन महिने भौतिक पूर्वाधार मन्त्रीको कार्यकाल निर्देशन र कर्मचारी सरुवामै बित्यो ।
सुरुका केही दिन मन्त्रीको वरीयता नमिलेको भन्दै श्रेष्ठ मन्त्रालय नै गएनन् । घरबाटै मन्त्रालयको काम गरे । तर प्रचण्डले वरीयता सच्याएनन् । एमालेका विष्णु पौडेलभन्दा तलै राखिदिए । अहिले पनि उनी वरीयतामा कांग्रेसका पूर्णबहादुर खड्काभन्दा तल छन् ।
भौतिक पूर्वाधार मन्त्रालयमा रहँदा श्रेष्ठले कर्मचारी मात्र होइन, जिल्लामा कार्यरत इन्जिनियर र कर्मचारीहरूको व्यापक सरुवा गरेका थिए । बैतडी, हुम्ला, प्युठान, जुम्लालगायत डिभिजन कार्यालय तथा योजना कार्यालयमा प्रमुख परिवर्तन गरिएको थियो । फागुन पहिलो साता पनि मन्त्री श्रेष्ठले यसरी नै ठूलो संख्यामा कर्मचारी एकसाथ सरुवा गरेका थिए । फागुन ३ गते उनले एकैपटक २० जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका थिए । मन्त्रालयको इतिहासमा सम्भवतः पहिलोपटक यति धेरै सहसचिव एकसाथ सरुवामा परेका थिए ।
नयाँ राष्ट्रपतिको चुनावका लागि दलहरू छलफलमा केन्द्रित भइरहेका बेला मन्त्री श्रेष्ठले व्यापक सरुवा आंतक मच्चाएका थिए । त्यहीबेलामा आफ्नो जिल्लावासी सुशीलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाउन मन्त्री श्रेष्ठले अर्जुनजंग थापालाई मन्त्रालयमा तानेका थिए । श्रेष्ठले सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई मन्त्रालयमा तानेर रामहरि पोखरेललाई पठाए । अजयकुमार मुललाई सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको प्रमुखमा सरुवा गरिदिए ।
विनोदकुमार मौवालाई आयोजना समन्वयकर्ताका रूपमा जलमार्ग आयोजना र अर्जुनप्रसाद अर्याललाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमा सरुवा गरेका थिए । ज्ञानेन्द्रकुमार झालाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयको निर्देशकमा काजमा खटाएका थिए ।
राजेन्द्रप्रसाद दासलाई सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाको निर्देशकको काजमा र मदन भण्डारी राजमार्ग आयोजनाको निर्देशकमा बेलबहादुर भुजेल अनि यान्त्रिक तालिम केन्द्रको प्रमुखमा अरुणकुमार कटुवाललाई पठाए । मन्त्रालयकै अर्को महत्त्वपूर्ण निकाय एडीबी आयोजना निर्देशनालको निर्देशकमा उमेशविन्दु श्रेष्ठ र विकास सहायता कार्यान्वयन महाशाखाको प्रमुखमा विजय जैसीलाई पठाएका थिए ।
मन्त्री भएदेखि उनले देशका विभिन्न सडकको निरीक्षण र अनुगमन गरे । काठमाडौंकै सडकको अनुगमन गरे । कर्मचारीलाई निर्देशन दिए । तर काम भने केही पनि भएन । निष्पक्ष ढंगले हेर्ने हो भने श्रेष्ठको कार्यप्रगति शून्य रहेको कर्मचारीहरू बताउँछन् । त्यसैले गृहमन्त्री भए पनि उनी निकै विवादित र बदनाम भएर निस्कने विश्लेषण गर्न थालिएको छ ।