उपनिर्वाचनअघि नै गोविन्दराज जोशी र दिनेश कोइरालामाथिको कारबाही फुकुवा हुने
काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गतेको उपनिर्वाचनअघि नै तनहुँका गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथिको कारबाही फुकुवा गर्ने तयारी गरेको छ ।
चितवन २ र तनहुँ २ मा आफ्ना उम्मेदवारको जित सुनिश्चित गर्न भन्दै कांग्रेसले ती जिल्लामा बलियो जनआधार भएका नेता जोशी र कोइरालामाथि गरेको कारबाही फुकुवा गर्ने तयारी गरेको स्रोतले बतायो ।
यस विषयमा अहिले कांग्रेसभित्र व्यापक छलफल र बहस भइरहेको छ । जोशी एक्लैसँग सात हजार भोट रहेकाले उनीमाथि गरिएको कारबाही फुकुवा गर्न कांग्रेस नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । रामचन्द्र पौडेल राष्ट्रपति भइसकेकाले जोशीको अब मुख्य प्रतिस्पर्धा जिल्लामा कोही नरहेकाले उनीमाथिको कारबाही फुकुवा गर्न कांग्रेस नेतृत्वमाथि दबाब परेको छ ।
यदि जोशीमाथि कारबाही फुकुवा भएमा र एकीकृत समाजवादीका किसान श्रेष्ठले भोट दायाँबायाँ नगरेमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जित्ने सम्भावना धेरै छ ।
उता चितवन २ मा पहिलेको भन्दा अहिले माहोल फेरिएको छ । कांग्रेसले स्थानीय जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएकाले अब कांग्रेसको भोट घन्टीतिर नजाने देखिएको छ । हिजो असन्तुष्ट बनेका जगन्नाथ पौडेल र विकास कोइरालामाथिको कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गरिसकेको छ । अब चितवन ३ का दिनेश कोइरालामाथिको कारबाही पनि फिर्ता गर्ने तयारी भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य कोइराला चितवनमा बलियो र जनाधार भएका नेता मानिन्छन् । एमालेले पनि स्थानीय रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएकाले यसपटक चितवन २ रवि लामिछानेलाई निकै चुनौती हुने देखिएको छ ।