अञ्जनलाई सहयोग गर्ने देउवाको वचन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको छ ।
बिहीबार बिहान सम्पन्न मतगणनामा अञ्जन श्रेष्ठले ३७, उमेशलाल श्रेष्ठले ३१ र रामचन्द्र संघईले ३० प्रतिशत मत प्राप्त गरेका थिए । त्यसैले पहिलो र दोस्रो धेरै मत ल्याउने अञ्जन र उमेशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ ।
अञ्जन र रामचन्द्र दुवै कांग्रेस पक्षीय उम्मेदवार हुन् । तर दुवै उठेकाले पहिलो चरणमा नतिजा नआएको हो । अहिले वरिष्ठ उपाध्यक्षमा जसले जित्यो, तीन वर्षपछि उही स्वतः अध्यक्ष हुने भएकाले पनि उद्योगी व्यवसायीको चुनावमा सबैले चासो राखेका हुन् । महासंघको निर्वाचनमा संघईले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको र अञ्जनले कांग्रेस महामन्त्री गगन थापा समूहको समर्थन जुटाएको चर्चा थियो। कांग्रेसबाट अब अञ्जन एकल उम्मेदवार भएका छन्। स्राेतका अनुसार अहिले थापा खुलेरै अञ्जनकाे पक्षमा लागेका छन् ।
बिहीबार बिहान अञ्जनले कांग्रेस सभापति देउवासँग धुम्बाराही पुगेर कुराकानी गरेका थिए । देउवाले अञ्जनलाई सहयोग गर्ने बचन दिएको स्रोतले बतायो । यदि संघईको सबै मत पाएमा अञ्जनले ६७ प्रतिशत मत ल्याएर चुनाव जित्ने छन् । अलिअलि उमेशलालले मत पाए पनि अञ्जन नै विजयी हुने सम्भावना छ । तर संघई पक्षले कसलाई सहयोग गर्ने घोषणा गरिसकेको छैन ।
उनी अञ्जन र उमेशलाल दुवैसँग वार्तामा रहेको बताइएको छ । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका छोरा हुन् उमेशलाल। साहना प्रधानका छोरासमेत रहेका उमेशलाललाई एमाले पार्टीको सहयोग छ। एमाले अध्यक्ष केपी ओलीले उमेशलाललाई जिताउन खुलेरै लबिङ गरेका छन् । उनले केही उद्याेगी व्यवसायीलाई फाेनसमेत गरेकाे बुझिएकाे छ ।
अहिले मारवाडी र नेवार समुदाय भनेर उम्मेदवारको व्यवहारका कारण कित्ताकाट भएको छ। उमेशलाल एउटा मारवाडी विरोधीका रुपमा चिनिएका छन्। त्यसैले मारवाडी समुदायको समर्थन अञ्जनलाई हुन सक्ने देखिएको छ ।