तीनवटै निर्वाचन क्षेत्रमा ठूला दलका शीर्ष नेता चुनावी क्याम्पियनमा
काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि बिहीबार मध्यरातिसम्म प्रचारको समय तोकेको छ । सोही कारण आज बुधबार र बिहीबार तनहुँ १, चितवन २ र बारा २ मा गठबन्धनमा आबद्ध दल, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा केन्द्रित भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई बुधबार दिउँसो दमौलीमा आयोजित चुनावी सभामा सहभागी भएका छन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको चुनावी प्रचारका लागि आयोजित सभामा चारै दलका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

नेसपा अध्यक्ष भट्टराईबाहेक प्रधानमन्त्री प्रचण्ड, देउवा, नेपाल बिहीबार बारा २ मा जाने भएका छन् । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । चितवन २ मा बिहीबार नै गठबन्धनको चुनावी सभा तय भएको छ । तर को को सहभागी हुने भन्ने टुंगो छैन ।
चितवन २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदयशमशेर राणालगायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा बसेका छन् । महामन्त्री थापा तनहुँ र चितवन ओहोरदोहोर गरिरहेका छन् । कांग्रेस नेता प्रकाशमान सिंह बुधबार भरतपुर पुगेका छन् ।
एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई साथ दिन पोलिटब्यूरो सदस्य गोकुल बास्कोटालाई खटाएको छ । पार्टी सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले पनि चितवन आउजाउ बाक्लो पारेका छन् ।