उपनिर्वाचनको समीक्षा गर्दै देउवाले भने, कांग्रेस क्रिटिकल अवस्थामा पुग्यो, एकताबद्ध हुन जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको विश्लेषण गरेका छन् । उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको र चौतर्फी आक्रमण भएको उनको भनाइ छ ।

सोमबार संसद् भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने धारणा राखेका थिए ।

‘उपनिर्वाचनको नतिजाले चुनौती खडा भएको अवस्था छ, यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ, पार्टी क्रिकिटल अवस्थामा पुग्यो, सबै साथीहरू मिलेर एकताबद्ध भएको सन्देश दिएर अघि बढ्नुपर्छ,’ देउवाले भने । उनले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने र चुनौतीको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

सभापति देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले सांसदहरूसँग बजेटका सम्बन्धमा सुझाव लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *