प्रचण्डसँग दुई विकल्प : कि रविले मागेको मन्त्रालय दिने वा सरकारको नेतृत्व गुमाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएसँगै वर्तमान सरकारको दिनगन्ती सुरु भएको छ । बजेट निर्माण गर्ने बेला सरकार टिक्ने हो कि नटिक्ने भन्ने चासो र चिन्ता देखिएको छ ।
उपनिर्वाचनका बेला तनहुँको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका थिए– ‘आफूलाई वैकल्पिक भन्ने पार्टीका नेताले राम्रो मन्त्रालय नपाए ‘नो नट एगेन’ को नारा लगाउँदै समर्थन फिर्ता लिन्छन् । आफूले रोजेको मन्त्रालय पाए ‘अगेन एन्ड एगेन’ ।’ नभन्दै रास्वपा सभापति लामिछानेले पुनः गृह मन्त्रालयमा दाबी बढाउन सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । त्यति मात्र होइन, उनले पुरानो भ्रष्टाचारका मुद्दालाई छानबिन गरी अघि बढाउने बताएपछि प्रधानमन्त्री प्रचण्ड बडो संकटमा परेका छन् ।
रविले पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने कि निरन्तरता दिने निर्णय गर्नुले उनले प्रस्टै सरकारमा सामेल हुन राम्रो मन्त्रालय बार्गेनिङ गरेको बुझिन्छ । जुन कुरालाई संस्कृत, पर्यटना तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्पष्ट पारेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले जनमतको सम्मान गर्दै रविले मागेको मन्त्रालय दिनुपर्र्ने बताएका छन् । यसले रवि राम्रो र आकर्षक मन्त्रालय दिएमा सरकारमा सामेल हुन्छन् भन्ने माओवादी नेताहरूको बुझाई छ ।
दोस्रोपटक विश्वासको मत लिनेबेला प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई रास्वपाका नेतालाई मन्त्रीमा पठाउन प्रस्ताव गरेका थिए । तर गृह मन्त्रालय पाएमा मात्र रास्वपा सरकारमा जाने जवाफ दिएका थिए । उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्ने पनि बताएका थिए । त्यसैले अहिले रास्वपा एउटा निर्णयमा पुग्नैपर्ने बाध्यतामा छ । प्रचण्डले समेत रविलाई फोन गरेर रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर चासो राखेकाले सरकारमा फेरबदल हुने सम्भावना पनि धेरै छ ।
वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको पर्फमेन्स गतिलो नदेखिएकाले उनलाई अर्कै मन्त्रालय दिएर गृह मन्त्रालय रास्वपालाई दिएर सरकार जोगाउने प्रचण्डको रणनीति धेरै अघि बढिसकेको माओवादी स्रोतले बताएको छ ।