नेपाल र यूएईबीचको फाइनलमा दर्शकले निःशुल्क हेर्न पाउने
काठमाडौं । एसीसी प्रिमियर कप वर्षाका कारण ‘रिजर्भ डे’मा सरेकोको फाइनल खेलका लागि दर्शकले त्रिवि क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने भएका छन् । सोमबार भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल वर्षाले बिथोलेपछि मंगलबारका लागि सारिएको थियो । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले भोलिको खेलका लागि दर्शकहरूले त्रिवि क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने बताए ।
वर्षाका कारण खेल रद्द हुनुअघि सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको थियो । वर्षाका कारण रद्द भएको खेल भोलि (मंगलबार) यही अवस्थाबाट बिहान नौ बजेदेखि सुरु हुनेछ । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए ।
यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।