जमुनाह एकीकृत जाँचचौकीको निर्माण अन्तिम चरणमा

काठमाडौं । बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अबको डेढ महिनाभित्र पूरा हुने भएको छ ।

यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको काम भने अबको डेढ महिनाभित्र पूरा हुने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए ।

एकीकृत जाँच चौकी निर्माणका लागि जग्गा नेपालले उपलब्ध गराएको हो, यसको निर्माणको जिम्मेवारी भने नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले लिएको छ, लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो, नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ”, कार्यालय प्रमुख खनालले भने ।

उक्त जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको थियो । दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर, रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य भइरहेको भारतीय पक्षले जनाएको छ ।

जमुनाह नाकाभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको (भारत र नेपाल) दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण काम तीव्ररुपमा भइरहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढे पनि २०७७ फागुनदेखि मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनाको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *