बागमती र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउँदै
काठमाडौं । सात प्रदेशमध्ये कुनै कोसी, गण्डकी र कर्णालीबाहेक चारवटा प्रदेश सरकारले अझै पूर्णता पाएका छैनन् । कोसीमा एमाले नेतृत्वको सरकार छ । मधेस प्रदेशमा एमाले सरकारबाट बाहिरिएको छ ।
त्यहाँ पनि सरकारको नेतृत्व नै फेरबदलको गृहकार्य भइरहेको छ । लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने पनि सरकारले पूर्णता पाएको छैन ।
पछिल्लोपटक गठन भएको गण्डकी प्रदेश सरकारले भने पूर्णता पाइसकेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अहिले बजेट ल्याउने तयारीमा लागेका छन् । कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन् । सबैभन्दा अस्थिर बनेको सुदूरपश्चिम प्रदेश सरकारले भने अब पूर्णता पाउने देखिएको छ ।
माओवादीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो ।
माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उनीहरुको शपथ ग्रहण शुक्रबार नै गर्ने तयारी भइरहेको भट्टले बताए ।
तत्कालीन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मुख्यमन्त्री भएको तीन महिना बित्दासम्म शाहले दुईजनाबाहेक अन्यलाई मन्त्री नियुक्त गर्न सकेका छैनन् । नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने भएको छ ।
यता, बागमतीमा आइतबारभित्रै सरकारले पूर्णता पाउने भएको छ । कांग्रेसले पाँच, माओवादीले मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी सहमति भएको छ ।
कांग्रेसले ६ मन्त्रालयमा दाबी गर्दै आएको थियो । तर, एकीकृत समाजवादीले दुई मन्त्रालय नछाड्ने अडान राखेपछि हाम्रो नेपाली पार्टीलाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।