प्रचण्डलाई भारतका विपक्षी दलका नेताहरू भेट्न रोक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा छन् । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ । प्रतिनिधिमण्डलबाहेक प्रचण्ड र मोदीबीच एक्लाएक्लै पनि वार्ता हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

शनिबार नेपाल फर्कन लागेका प्रचण्डले भारतका विपक्षी दलका नेताहरूलाई नभेट्ने भएका छन् । चार दिनसम्म भारतमा रहँदा पनि एकजना विपक्षी नेताहरूसँग नभेट्नुलाई राम्रो संकेत मानिएको छैन । जबकि नेपालमा आएका भारतीय नेताहरूले सत्तारुढ र विपक्षी दलका नेताहरूलाई प्रायः भेट्ने गरेका छन् । विगतमा नेपालबाट प्रधानमन्त्री जाँदा विपक्षी दलका नेताले भेट्ने गरेका थिए । तर यसपटक भारतको सरकारीस्तरबाटै विपक्षी दलका नेता भेट्न नपाउने गरी कार्यतालिका बनाइएको बुझिएको छ ।

सन् २०१७ को आफ्नो भ्रमणमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस नेत्री सोनिया गान्धीसँग भेटवार्ता गरेका देउवाले पछिल्लो पटक ‘व्यस्तताका कारणले’ विपक्षी नेतालाई भेट्न नपाएको विवरण आएको थियो । सन् २०१३ मा सोनिया गान्धी र देउवाबीच भेटवार्ता भएको थियो ।

गत वर्षको निर्वाचनअघि भाजपाको निम्तोमा उक्त दलको मुख्यालय भ्रमण गर्ने कार्यसूचीसहित माओवादी अध्यक्ष प्रचण्ड दिल्ली पुगेका थिए । त्यसबेला विपक्षी नेताहरूलाई नभेटी स्वदेश फर्किएका प्रचण्डले प्रधानमन्त्री मोदीलाई भेट्न समय पाएनन्। तर हालैका वर्षहरूमा नेपालबाट हुने उच्चस्तरीय भ्रमणहरूमा भारतका विभिन्न पक्षसँग अन्तरक्रिया हुन छाडेको र त्यसले दीर्घकालमा दुई देशबीचको सम्बन्धमा नै असर पार्ने विज्ञहरूको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले त्यहाँका आन्तरिक घटनाक्रमले भारतका विपक्षी दलसँग भेट्ने कार्यक्रम नरहेको बताए । भाजपा र कंग्रेस आईबीच तनाव रहेको उल्लेख गर्दै उनले संसद् भवनको उद्घाटनमा कुनै पनि प्रतिपक्ष नआएकाले वातावरण नमिलेर भेघाटको कार्यक्रम नबनेको हुनसक्ने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड दिल्लीमा हुँदा कंग्रेस नेता राहुल गान्धी अमेरिकामा छन् । तर कंग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गे भने भारतमै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *